ताजा समाचार

तिलकराज भण्डारीको ‘लकडाउन’ डायरीः विश्वको अर्थराजनीतिक अन्तरविरोधमा उल्लेख्य बदलाव आउनेछ

काठमाडौं । कोरोना (कोभिड–१९)को माहामारीले विश्वका शक्तिशाली मुलुकको अवस्था पनि हायल–कायल छ । यसको रोकथाम र नियन्त्रणका लागि कोरोना संक्रमति अधिकांश मुलुकले ‘लकडाउन’ विधि अपनाइरहेका छन् । त्यसबाट नेपाल पनि अछुतो छैन । ११ चैतदेखि नेपालमा ‘लकडाउन’ जारी छ । जसबाट आम नागरिकहरुको दैनिकी घरभित्र सीमित छ ।

नेकपाका संबद्ध विद्यार्थी संगठन अनेरास्ववियूका  नेता  तिलकराज भण्डारीको लकडाउन डायरीः

कोभिड १९, कोरोना भाईरसको महामारीले आज विश्व मानव समुदाय र अर्थतन्त्रलाई तहसनहस तुल्याएको छ ।

चीनको हुबेई प्रान्तको युहान शहरमा पहिलोपटक २०१९ डिसेम्बर १ मा संक्रमण देखा परेको यो महामारीको संक्रमणबाट आज लाखौं मानिसहरु संक्रमित र हजारौंको मृत्यू भई सकेको छ । विश्व स्वास्थ संगठनले २०२० अप्रील ७ मा सार्वजनिक गरेको तथ्याङ्कलाई हेर्ने हो भने विश्वभरीमा १४,२५,९३२ संक्रमित, ८१,९८७ मृत्यू भईसकेको छ भने ३,०१८२८ संक्रमितहरु निको भएको अवस्था छ । नेपालमा २१२२ स्याम्पल परीक्षण गर्दासम्म ९ जनामा संक्रमण देखिएको छ भने एकजना उपचारपछि घर फर्किसकेका छन् ।

नेपालमा लकडाउनको १५ दिन बितिसकेको छ । सरकारले २०७७ बैशाख ३ गतेसम्मलाई लकडाउनको अवधी थप गरिसकेको छ । बन्दाबन्दीको अवस्थाले कोरोना भाईरस संक्रमणको फैलावट नियन्त्रण गर्न सहज भएको सबैको अनुमान छ । लकडाउनका कारणले राज्यका सबै अंग, निकाय, संघ÷संस्था र मानवीय जीवन असामान्य भईरहेको छ ।
सबै नेपाली जस्तै मेरो व्यक्तिगत दिनचर्यामा पनि बदलाव् आएको छ । दिनभरी घर बाहिरको व्यस्त जीवनशैलीमा रमाएका हामी जस्ता सबै साथीहरुको हालत यस्तै होला ।

शुरुका केही दिनहरु विताउन धेरै गाह्रो भएन । राजनीतिक तथा संगठनात्मक कामको शिलशिलामा गत सेप्टेम्बर २४ देखि ३० सम्म हामी केही साथीहरु बंगलादेश यात्रामा गएका थियौं । त्यो यात्राको डायरी मेरो नोटबुकमा सीमित थियो । त्यसलाई टाईप गर्नमा तीनचार दिन आफूलाई व्यस्त तुल्याए । उक्त डायरी टाईप गर्दै जाँदा एउटा कुराले मेरो मानसपटलमा फेरी एउटा झड्का ल्यायो । त्यो बेला अन्तराष्ट्रिय भाषामा बोलीचालीको समस्याले मलाई निकै पिरोलेको थियो । भाषा अभ्यासलाई सजिलो होस् भनेर लकडाउनको यो समयमा केही अंग्रेजी बुकहरुमा आफूलाई व्यस्त तुल्याउने प्रयास जारी छ । यद्यपी बाह्य वातावरणको प्रभावले अध्ययनमा धेरै रुची आएको छैन ।

हामी समाजिक सेवामा लागेका सामाजिक कार्यकर्ता हुनुको नाताले लकडाउनको कारणले अफ्ठेरो परेका मजदूर तथा नागरिकहरुको उद्धार, समन्वय र सहयोग गर्ने प्रयास दैनिकजसो चलिरहन्छ ।

शुरुका केही दिनमा सल्यानबाट नवलपरासी र काभ्रे जिल्लाका मजदूरी गर्न आएका जिल्लाबासीहरुलाई घरसम्म पठाउन सफल भए पनि संघीय सरकारले लकडाउनको अबधीभर जो जहाँ छ त्यहि व्यवस्थापन गर्ने निर्णयसहित आवाजावतको पास बन्द गरेपछि जिल्लाबाहिर काम गर्न गएका मजदूरहरुलाई घर पठाउने व्यवस्था गर्न सकिएको छैन । अहिले सम्म काठमाण्डौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, रसुवा, धादिङ, गोरखा, लमजुङ, कास्की, बागलुङ र म्याग्दी गरी साढे छ सय भन्दा बढी जिल्लाबासीहरु हाम्रो सम्पर्क र समन्वयमा छन् । त्यहाँका स्थानीय साथीहरुको सहयोगमार्फत स्थानीय सरकार र प्रशासनको समन्वय र सहयोग जुटाउने प्रयास दैनिक चलिरहन्छ ।

लकडाउन लम्बिदै जाँदा यो समस्या पनि बिकराल बन्ने खतरा छ । अव लकडाउन लम्ब्याउन अवस्थामा कम्तिमा जिल्लाबाहिर मजदूरी गर्न गएका नागरिक र भारतबाट फर्किएर नेपाल –भारत सीमा क्षेत्रमा रहेका नागरिकहरुलाई घरसम्म पुर्याउने कार्यमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार तथा सम्पूर्ण जनप्रतिनिधीहरुको ध्यान पुगोस भन्ने अपेक्षा छ । त्यसैगरी दैनिक मजददूरी गरेर जीवन निर्वाह गर्ने नागरिक र डेरा गरी बस्ने विद्यार्थीहरुका समस्या दिनप्रतिदिन थपिदै छ । यो समस्यासंग संबन्धीत फोन र म्यासेजको मात्रा बढन थालेको छ । यसको सामाधानको लागि सम्बन्धित सबैको ध्यान जावस् मेरो अनुरोध छ । अनुरोधको भाषालाई अन्य अर्थमा नबुझ्न समेत अनुरोध गर्न चाहान्छु ।
लकडाउनको अबधीमा धेरै जसो समय सामाजिक सञ्जाल तथा अनलाईनमा बित्ने गरेको छ । साथीहरुले विभन्न नामका ग्रुपहरु निर्माण गरेर ग्रुप भिडीयो कल, म्यासेज र सुचनाहरु प्रवाह गरिरहेका छन् । विभिन्न प्रकारका फेसबुक लाईभ, रमाईला भिडियो र मुभीहरु पनि लकडाउन व्यतितका साथी बनेका छन् ।
दिनचर्या त यसरी वितिरहेको छ । परिवारको ठूलो दाइ भारतमा मजदूरी गर्न जानुभएको छ, सम्पर्क हुन सकिरहेको छैन । सानु बहिनी बर्षा (अनमी) करार सेवामा डोल्पाको काइके गाऊपालिकामा छिन । ठूलो दाइ र सानु बहिनी संग सहज फोन सम्र्पक नभएकोले कहिलेकांही चिन्ता लाग्छ ।

बुवा, आमा सहितको परिवार घरमा छ । फोन सम्पर्क भईरहेकोले नजिकै र सहज लाग्छ । हाम्रो घर गाऊँभन्दा अलिमाथी एक्लै छ । भाइहरु गाऊँ र बजारतिर गएनन भने घरमा रहेका परिवारको चिन्ता लिनु पर्ने अवस्था छैन । भान्ज निराजनसहित हामी ५जना काठमाण्डौंमा छौं । काठमाण्डौंको जनजीवन पनि कष्टकर बन्दै गईरहेको छ । परिवार र बच्चाहरुसंग खेल्न पाऊँदा केहि समय निकै आनन्द जस्तो पनि लाग्छ । कहिले क्यारेमबोर्ड, कहिले, लुडो, कहिले स्कीपिङ कहिले खानाका विभिन्न परिकार बनाउने जस्ता सन्दर्भ पनि उल्लेखनीय नै छन् ।
कहिलेकांही मनमा प्रश्न उठ्छ, साच्चै हामी सचेत भएका हौं कि डराएका हौं ? तरकारी किन्न जान पनि मन लाग्दैन । घरबाहिरको गल्लीमा निस्कदा पनि मास्क, सेनिटाईजर लगाएर जानु परेको छ । त्यहि पनि कुनै गाडी आयो भने प्रहरी हो की, भनेर भित्ताको कभर लिनु परेको छ । कहिले काँही त जनयुद्धबेलाको संकटकालको पो स्मरण हुन्छ भन्या ।

हामी सामाजिक कार्यकर्ता भएको हुनाले हाम्रो व्यक्तिगत जीवनका भन्दा सार्वजनिक चासो र सन्दभर्मा बढी ध्यान र समय व्यतित हुनु स्वभाविक नै छ । हामी सबैको साझा प्रयासले यो महामारीसंग विजयी प्राप्त हुनेछ ।

मलाई लाग्छ यो महामारीपश्चात विश्वको अर्थराजनीतिक अन्तरविरोध उल्लेख्य बदलाव आउनेछ ।हरेक मुलुक र त्यसको नेतृत्व तथा हरेक नागरिकको संस्थागत र व्यक्तिगत जीवनशैली पनि गुणात्मक परिवर्तन हुनेछ । यो महामारी ले दिएका शिक्षा सहित मानव समुदायले प्रकृतिसंग विजय प्राप्त गर्ने संघर्षमा नयाँ ढंगले आफूलाई संगठित गर्ने छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org