ताजा समाचार

३४ जना चिकित्सकलाई सुदूरपश्‍चिम पठाइयो

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम क्षेत्र मानिएको सुदूरपश्चिम प्रदेशमा संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३४ जना चिकित्सक पठाएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा एमडी /एमएसमा अध्ययनरत ३४ चिकित्सकलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट परिचालन हुनेगरी पठाएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

शुक्रबार जहाज चार्टड गरी ३४ जना चिकित्सकलाई त्यहाँ पठाइएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए। सुदूपश्चिम प्रदेशमा कोरोनाको रोकथाम र नियन्त्रणका लागि थप जनशक्ति आवश्यक भएकाले चिकित्सक पठाएको नियमित पत्रकार सम्मेलनमा डा.देवकटोले जानकारी दिए।

उनका अनुसार चिकित्सकलाई एक महिना अवधिका लागि पठाएको र आवश्यकताअनुसार त्यो अवधि थपिनेछ। सुदूरपश्चिम प्रदेशमा भारत र अन्य मुलुकमा ठूलो संख्यामा मानिस भित्रिएका छन्।अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण देखिएको छ।

संक्रमित हुनेमा दुवईबाट आएका एकजना ३४ वर्षीय पुरुष, भारतबाट आएका दुईजना पुरुष, वीरगन्जबाट आएकी एक ६५ वर्षीया महिला र अर्की ३४ वर्षीया महिला हुन्। ३४ वर्षीया महिला दुवइबाट आएका संक्रमित परिवारको सदस्य हुन्।उनीहरु सबैको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको  छ। एक जना भने निको भएर घर फर्किसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org