ताजा समाचार

उदयपुरमा भेटिएका १२ संक्रमितसँग सम्पर्क गरेका व्यक्ति खाेज्दै प्रहरी, भुल्के क्षेत्र सिल

जनकपुर । उदयपुर जिल्लाको सदरमुकाम त्रियुगा नगरपालिकामा भेटिएका १२ जना कोरोना संक्रमितलाई विराटनगर पठाएर मस्जिद क्षेत्रलाई सिल गरिएको छ ।

शुक्रबार मध्यराति उनीहरूलाई विराटनगर पठाएपछि शनिबार बिहानै त्रियुगा नगरपालिका ३, भुल्के बस्ती क्षेत्रलाई सिल गरिएको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले जानकारी दिए । संक्रमित १२ जनालाई तीनवटा एम्बुलेन्समा र अन्य चार जनालाई अर्कै एम्बुलेन्समा राखेर भुल्केबाट राति विराटनगर पठाइएको एसपी बुढामगरले जानकारी दिए ।

संक्रमितहरू सबै तबलिकी जमातिहरू रहेको भन्दै त्रियुगा नगरपालिकाको मुस्लिम समुदायको बाक्लो बस्तीहरूमा पनि तिनीहरूको पहुँच भएको हुनसक्ने आशंकामा निगरानीमा राखिएको छ । त्रियुगाको वडा नम्बर २, ३, ५, ६ र १२ मा मुस्लिम समुदायको उपस्थिति बाक्लो रहेको स्थानीय सञ्चारकर्मी राहुल यादवले बताए ।

वडा ३ को भुल्के बस्ती क्षेत्रलाई सिल गरिसकेपनि नुर मस्जिदमा आउजाउ गर्ने व्यक्तिहरूलाई पहिचानगरी सबैलाई र्यापिड टेस्ट गर्न पहल गरिरहेको उक्त वडाका अध्यक्ष अवधेश चौधरीले बताए । उनले भने, “भुल्के मस्जिदमा यतिधेरै कोरोना संक्रमित आएर यति लामो समयसम्म गुपचुप भएर बस्नु समान्य कुरा होइन । घटना बाहिरिइसकेपछि पनि धेरै सतर्कता अपनाउनुपर्ने जरुरी छ ।”

एक साताअघि विराटनगरबाट भुल्केमा रहेको नुर मस्जिदमा आइपुगेका १२ भारतीयसहित १६ जनाको समूहमध्ये एक नेपालीसमेत १२ जनामा कोरोना संक्रमित देखिएको हो ।

उनीहरूमा कोरोना भाइरस संक्रमण रहेको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबारै साँझ गरिसकेको छ । संक्रमितहरूलाई विराटनगरस्थित विशेष कोरोना अस्पतालमा र उनीहरूको टोलीमा रहेका अन्य चारजनालाई टाँडीमा रहेको क्वारेन्टाइनमा राखिएको कोसी अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org