ताजा समाचार

आज पनि देशभर बदली, हावाहुरी/चट्याङ/वर्षाको सम्भावना

काठमाडाैँ । आज (सोमबार) पनि देशैभर मौसम बदली भएको र हावाहुरी/चट्याङ/असिनासहित वर्षा हुने सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

तसर्थ विशेषगरी हावाहुरी, चट्याङ र असिनाबाट सतर्क रहन मौसमविद्ले सबैलाई आग्रह गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार बिहानैदेखि देशैभर मौसम बदली भएको छ र आज दिनभर मौसम यस्तै रहनेछ।

‘बीच-बीचमा घाम लागे पनि पुनः बदली हुने र पानी पर्ने क्रम जारी रहने देखिएको छ,’  उनले भनिन्, वर्षा हल्कादेखि मध्यमसम्म हुने सम्भावना छ।’

उनका अनुसार पश्चिमदेखि मध्यम क्षेत्रसम्म बादल बनिसकेको अवस्था छ। अब कुनै पनि बेला हावाहुरी, चट्याङ र असिनासहित वर्षा हुने सम्भावना छ।

‘अरू दुई/तीन दिन मौसम यस्तै रहने देखिएको छ,’ मौसमविद् मानन्धरले भनिन्, ‘यसैकारण वर्षा भएका बेला हावाहुरी, चट्याङ र असिनाबाट जोगिन जरुरी छ।’

मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ–

‘पश्चिमी भूभागका अधिकांश स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानहरूमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’

माैसमविद्का अनुसार हाल देशमा पश्चिमी वायु /स्थानीय वायु र पूर्वी भू-भागनजिक बनेको न्यून चापीय क्षेत्रको प्रभावका साथै बंगालको खाडी /अरब सागरबाट समेत जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाे छ।

यसैकारण नेपालमा केही दिनदेखि हावाहुरी, चट्याङ र असिनासहितकाे वर्षा भइरहेकाे हाे।

गत २४ घण्टामा काठमाडौं उपत्यकामा २.६ मिलिमिटर वर्षा भएकाे माैसमविद् मानन्धरले जानकारी दिइन्। अन्य ठाउँकाे विवरण भने आउन बाँकी रहेकाे उनले बताइन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org