ताजा समाचार

कोरोना जितेर घर गएकी ६५ वर्षीया वृद्धा फेरि अस्पताल भर्ना

काठमाडाैँ  । निको भएर घर फर्किएकी जिल्लाकी दोस्रो तथा नेपालकी छैठौ कोरोना संक्रमित ६५ वर्षीया मनकुमारी पौडेल सोमबार अचानक धौलागिरी अञ्चल अस्पतालमा देखिइन् ।

अस्पतालमा आकस्मिक देखिएपछि केहिबेर वातावरण भयभित देखियो ।

पछिल्ला दिन खोप कार्यक्रम र अन्य सेवाग्राहीको समेत बाक्लो उपस्थितिले भीड भइरहेको अस्पतालमा अचानक पूर्वसंक्रमित आमालाई देखेपछि स्वास्थ्यकर्मीदेखि सेवाग्राहीसम्म भयभित देखिएको प्रत्यक्षदर्शी रुपा थापाले बताइन् ।

‘सबै आ-आफ्नो काम र उपचारको प्रतिक्षामा थियौँ, पहिले संक्रमित भएकी आमा अस्पताल आएको भन्ने भएपछि अस्पतालको माहोल एकैछिनमा भिन्न देखियो,’ थापाले भनिन्, ‘केहि आत्तिरहेका देखिन्थे, नर्सहरु बीच पनि कसले उनको परीक्षण गर्ने भन्नेमा एक आपसमा कानेखुशी गरेको देखिन्थ्यो ।’

वृद्धावस्थामा पनि कोरोना जितेर अस्पतालबाट भव्य बिदाइ गरिए पनि १९ दिनपछि अस्पताल आउँदा आफूलाई पहिलेकै जस्तो फरक व्यवहारको अनुभूति भएको मनकुमारीले बताइन् । ‘डाक्टरले नै बोलाएको हुनाले घरबाट बुहारीलाई लिएर अस्पताल पुगेकी थिए’, उनले भनिन्, ‘कोरोना लागेको भनेर मलाई त्यहाँ कतै बस्दा पनि समस्या, उठेर यता उता गर्दा पनि समस्या भए जस्तो बुहारीमार्फत कुरा आएको रहेछ, यसलाई ठुलो रुपमा नलिए पनि मन केही खिन्न भने बनायो ।

’ मनकुमारीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपश्चात घरमा लिन जाने क्रममा रेडक्रसको एम्बुलेन्स चालक नै फरार भएका थिए । अस्पतालमा रहेका स्वास्थ्यकर्मी र अन्य व्यक्तिको बुहारीमार्फत यस्तो कुरा सुनेपछि स्वयम् आफैँ अरुबाट सर्ने जोखिमलाई ध्यानमा राखेर सचेतता अपनाइरहेको प्रतिक्रिया दिएको उनले बताइन् ।

बागलुङ नगरपालिका–३ गौडाकोटकी ६५ वर्षीया पौडेललाई गत चैत्र १७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । चैत्र ४ गते बेल्जियमबाट कतार एयरवेजको विमान हुँदै नेपाल आएका उनी वैशाख ६ गते निको हुँदै डिस्चार्ज भएकी थिइन् । अस्पतालको आइशोलेसन वार्डबाट डिस्चार्ज गरिए पनि होम क्वारेन्टाइनमै बस्न सुझाव दिइएको थियो ।

दम र प्रेसरको समस्याबाट ग्रसित उनमा सुगरको समेत संकेत देखिए पछि फलोअपका लागि बोलाइएको अस्पतालका सूचना अधिकारी तीर्थराज गौतमले बताए । ‘सुगर र प्रेसर जाँचकै लागि अस्पतालबाट बोलाएर आउनुभएको हो’, गौतमले भने, ‘तर अस्पताल परिसरमा ठूलै संख्यामा सेवाग्राही भएकाले केही भयको अवस्था बन्यो, त्यो पुरानो संक्रमितको मनोविज्ञानसँग जोडेर हो ।’

धौलागिरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.शैलेन्द्र बि पोखरेलले पूर्व संक्रमित मनकुमारीको अवस्था सामान्य रहेको बताए । ‘पहिलेकै उपचारका क्रममा सुगरको आंशका भएकाले चेकअपका लागि बोलाइएको हो, अहिले सुगर बढ्न लागेकाले औषधि दिएर पठाएका छौँ,’ डा.पोखरेलले भने, ‘डिस्चार्ज भएर जाँदा दुई साता होम क्वारेन्टाइनमै बस्न भनेका थियौँ, अझै केहि दिन सचेतता अपनाउनुस् भनेका छौँ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org