ताजा समाचार

प्रधानमन्त्री ओलीको भारतलाई प्रश्‍न : सत्यमेव जयते कि सिंहमेव जयते ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्यको सधैं जित हुने भन्दै भारतद्वारा अतिक्रमित कालापानी, लिपुलेक र लिम्पियाधुराको भूमि फिर्ता गरेरै छाड्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकका सरकारको आगामी नीति तथा कार्यक्रमका बारेमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले अतिक्रमित भूमि फिर्ता गर्ने प्रतिबद्धता दोहोऱ्याएका हुन् । उनले अतिक्रमित भूमि फिर्ता गर्न परिस्थिति जटिल हुने लक्षण देखिए पनि जसरी पनि नेपाली भूमि फिर्ता गरिने प्रतिबद्धता गरेका हुन् ।

उनले भारतको मिचाहा प्रवृत्तितर्फ इंगित गर्दै भारतीय प्रतीक चिन्हको प्रसंग पनि उप्काएका छन् । ‘सत्यको जित हुन्छ कि सिंहको जित हुन्छ’ भन्ने कुराको जवाफ पनि भारतसँग सोध्ने प्रधानमन्त्रीले बताए ।

‘अशोकाले स्थापना गरेको चारतिर फर्केको सिंह भारतको प्रतीक चिन्ह छ । त्यसको मुनि सत्यमेव जयते लेखेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘सत्यमेव जयते भारतको प्रतीक चिन्हमा लेखेको छ तर म विश्वास गर्छु । हामी सबै नेपालीले सत्यमेव जयतेमा विश्वास गर्छौ । म भारतलाई सोध्नेवाला छु कि सत्यमेव जयते कि सिंहमेव जयते ?’

त्यस्तै प्रधानमन्त्री ओलीले कालापानी क्षेत्रलाई भारतले अतिक्रमण गरेर विवादित बनाएको बताए । ‘भारतीय सेना कालापानीमा बसेपछि त्यसपछि कालापानीमा जान ब्लक भयौं । त्यसबेलाका शासकहरूले बोल्न डराए । वर्तमान सरकारको तर्फबाट प्रधानमन्त्रीको हैसियतले अवगत गराउन चाहन्छु कि लिपुलेक, लिम्पियाधुरा र कालापानीको विषय ओझेल पर्न दिने छैनौं,’ उनले भने, ‘हाम्रो भूमि भारतले अकुपाइ गरेर, अर्घेल्याइँ गरेर विवादित बनाइएको हो ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org