ताजा समाचार

ईदमा राष्ट्रपतिको सन्देश- कोरोनासँग लड्न संयम र धैर्य राखौं

काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले ईदको अवसरमा सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा दीर्घायुको कामना गरेकी छन्।

सोमबार शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले विश्वका विभिन्न स्थानमा रहेका नेपालीको धार्मिक तथा सांस्कृतिक विविधताबीच आपसी सद्भाव, सहिष्णुता, भ्रातृत्व र पारिस्परिक सहयोगलाई थप प्रगाढ तुल्याउन प्रेरित गर्ने पनि उल्लेख गरेकी हुन्।

सबैले संयम र धैर्यका साथ सरकारको आह्वानबमोजिम लकडाउन पालना गरी घरभित्रै सुरक्षित रहेर पर्व मनाउने उनले विश्वास व्यक्त गरेकी छन्।

राष्ट्रपति भण्डारीले कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त पारिरहेकाले यस महामारीबाट बच्न नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी नियमको पालना गर्नु सबै नेपालीको कर्तव्य भएको शुभकामाना सन्देशमा उल्लेख गरेकी छन्।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले अहिलेको प्रतिकूल परिस्थितिमा ईस्लाम धर्मावलम्बीले घरघरमै बसेर इद उल फित्र पर्व मनाउने विश्वास व्यक्त गरेका छन्।

ईस्लाम धर्मावलम्बीको महान् पर्व ईदको अवसरमा शुभकामना सन्देश दिँदै उनले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि देश लकडाउनमा रहेको बेला आवश्यक सावधानी अपनाएर पर्व मनाउनुपर्ने उल्लेख गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सबै नेपाली इस्लाम धर्मावलम्बीको प्रगतिको कामना गर्दै उपराष्ट्रपति पुनले विभिन्न समुदायका चाडपर्व, रीतिरिवाज र धर्म संस्कृतिले आपसी सहिष्णुता र राष्ट्रिय एकतालाई बलियो बनाउँदै आएको बताएका छन्।

नेपालमा कोरोना भाइरसबाट तीन जनासहित विश्वका विभिन्न देशमा जीवन गुमाएका धेरै नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति श्रद्धाञ्जलि र उनीहरूका परिवारजनमा समवेदना व्यक्त गर्दै उपराष्ट्रपति पुनले संक्रमितको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org