ताजा समाचार

नेकपामा एमसिसि विवादः सचिवालय बैठकमा भीम रावल पनि सहभागी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकमा स्थायी समिति सदस्य भीम रावलको समेत सहभागीता रहेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी सचिवालय बैठकमा रावलसहित अर्थ तथा सञ्चारमन्त्री युवराज खतिवडा र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली समेत सहभागी रहेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बैठकमा सचिवाल सदस्य नरहेका भीम रावलसहित खतिवडा र ज्ञवालीसमेत आमन्त्रित रहेको बताए ।

उनका अनुसार एमसीसी अध्ययन कार्यदलले दिएको प्रतिवेदन तथा गर्नुपर्ने निर्णयमा छलफल केन्द्रीत रहेको थियो । रावल र ज्ञवाली नेकपाले झलनाथ खनालको संयोजकत्वमा गठन गरेको एमसीसी अध्ययन कार्यदलका सदस्य हुन् ।
गत केन्द्रीय समिति बैठकमा नेकपाभित्र एमसीसीबारे चर्को विरोध भएपछि एमसीसीबारे अध्यन गर्न कार्यदल गठन भएको थियो ।

सो कार्यददले एमसीसीसँग सम्बन्धित ११ वटा बुँदाहरू सच्याउन सुझाव दिएको थियो  । यस्तै नेपालको राष्ट्रिय सुरक्षाका विषयहरूलाई गम्भीर रूपमा सम्बोधन गर्न संशोधनको आवश्यकता रहेको पनि ठहर गरिएको थियो ।

तर सो कार्यदलको सुझाव र पार्टीभित्र विवाद नै जारी रहेको अवस्थामा सरकारले बजेटमै एमसीसी घुसाएको छ ।

अर्थमन्त्री डा युवराज खतिवडाले बजेट भाषणमा एमसीसीबारे जिकिर नगरे पनि अनुदानबारे अनुसूचीमा यसलाई समावेश गरेको पाइएपछि नेकपाभित्र हलचल मच्चिएको छ ।

अमेरिका अन्तरगतको अनुदान सूचीमा यसमा ५ अर्ब ७२ करोड रुपैयाँ एमसीसी शीर्षकमा राखिएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको यही अधिवेशनबाट एमसीसी पारित हुने जिकिर गरेका थिए ।

बजेटमा एमसीसी घुसाइएपछि नेकपाभित्र थप विवाद बढ्ने देखिएको सन्दर्भमा सचिवालय बैठक बसिरहेको हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org