ताजा समाचार

संसदमा शून्य समय : रुकुम–पश्चिमदेखि कोरोना महामारीमै केन्द्रित

काठमाडौं । प्रतिनिधिसभामा आज पनि शून्य समयमा सांसदहरूले जातीय विभेदका कारण भएको रुकुम पश्चिमको घटना र कोरोना महामारीकै विषय उठेको छ ।

शून्य समयमा बोल्ने अधिकांस सांसदहरू रुकुम पश्चिमको घटनाको निष्पक्ष छानबिन हुनुपर्ने र कोरोना महामारी नियन्त्रणका लागि क्वारेन्टाइन व्यवस्थित गरिनुपर्नेलगायत धारणा राखेका हुन् ।
हेरौं कुन सांसदले के भने ? :

दलित सांसदको नेतृत्वमा संसदीय समिति माग 
नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले रुकुम पश्चिमको घटनाको निष्पक्ष छानबिन गर्न दलित सांसदको नेतृत्वमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।

संसदको शून्य समयमा उनले यस्तो माग गरेका हुन् । उनले ततकाल दलित सांसदको नेतृत्वमा समिति गठन नभए कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिए । उनले घटना ढाकछोप गर्न सत्तारूढ दलका तर्फबाट चलखेल भएको पनि बताए ।

गृह मन्त्रालयले गठन गरेको समिति आफूहरूलाई मान्य नभएको पनि सांसद विश्वकर्माले बताए । संयुक्त राष्ट्रसंघको समेत सो घटनामा ध्यानाकर्षण भइसकेको भन्दै उनले घटनाको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिए । नवराज विश्वकर्मा र रुकुम पश्चिमकी मल्ल थर भएकी युवतीबीचको अन्तरजातीय प्रेमको विषयलाई लिएर घटना भएको थियो ।

रुकुम पश्चिमको घटना नरसंहार, सबैको अनुहारमा कालो पोतियो : गगन थापा
नेपाली कांग्रेसका सांसद गगन थापाले रुकुम पश्चिममा भएको नरसंहारका दोषीलाई कारबाहीको माग गरेका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद थापाले संविधानमा दलितका हक–अधिकार लेख्यौं भनेर गर्व गर्ने सबैको मुखमा रुकुम पश्चिममा भएको घटनाले सबैको अनुहारमा कालो पोतिएको बताए ।

“यस्तो अमानवीय र क्रूर घटनालाई भवितव्य हो भनेर देखाउन र सहायक कारणहरू देखाएर यो घटनाको जरामा रहेको उच्च जातीय अहंकारको ढाकछोप गर्न भइरहेको प्रयत्न र राज्यको लाचारीलाई यो संसदले टुलुटुलु हेरेर बस्यौं भने लाज पनि हामीसँग लजाउँछ,” उनले भने, “रुकुम नरसंहारलगायत लकडाउनको अवधिमा मात्र जातीय विभेदका कारणले बत्तीस जनाको हत्या, आत्महत्या र बलात्कारको घटनाको छानबिन गर्न अविलम्ब सर्वदलीय छानबिन समिति बनाउन जोडदार माग गर्छु ।” थापाले समिति नबन्दासम्म आफूहरूले समितिको माग गरिरहने र न्यायका पक्षमा बोलिरहने पनि जानकारी गराए ।

यस्तै सांसद आशा विकले रुकुम पश्चिमको घटनाको सत्यतथ्य छानबिनको माग गरिन् । मृतकका परिवारले न्याय मागिरहेको भन्दै विलम्ब नगरी संसदीय छानबिन समिति गठन गर्न माग गरेकी हुन् ।

सरकारको भूमिकाको खोजी 

सत्तारुढ नेकपाका सांसद टेकबहादुर बस्नेतले भारतबाट नेपाल फर्किएकाहरू बाँकेमा दुर्घटना हुँदा १२ जनाको ज्यान गएकोप्रति दुःख व्यक्त गरे । घाइतेहरूको उपचार गर्न अस्पताल लैजाँदा उपचार गर्न नमान्नु अमानवीय भएको भन्दे उपचारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराए ।

समाजवादी पार्टीका सांसद उमाशंकर अरगैयाले धनुषाका एक युवा सीमामै भोकै मर्नु दुखद भएको बताए । उनले धनुषामा रहेका नाका खोलेर भारतमा अलपत्र नेपालीलाई व्यवस्थित रूपमा नेपाल ल्याउनुपर्ने बताए ।

त्यस्तै, नेकपा सांसद अमृता थापाले सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश भित्र्याउने निर्णयको स्वागत गरिन् । उनले कोरोनासँग जुध्नका लागि सरकारको परिमार्जित योजना आवश्यक भएको भन्दै ध्यानाकर्षण गराइन् ।

सेना परिचालन गरिएकामा प्रश्न
नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले कोरोना महामारीमा सेना परिचालन गरिएको विषयमा प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकको शून्य समयमा सांसद सिंहले सेना परिचालनको विषयमा प्रश्न उठाएका हुन् । उनले विपत् व्यवस्थापनको काम गृह मन्त्रालय ऐनमा व्यवस्थापन गरिएको पनि बताए ।

विश्वमा कहीँ पनि कोरोना महामारीमा सेना परिचालन नभएको भन्दै नेपालमा पनि रक्षा मन्त्रालय वा सेनालाई विपदमा परिचालन गर्ने व्यवस्था नभएको बताए ।  सिंहले सेना परिचालनको विषयमा प्रश्न उठाएका हुन् । उनले विपत् व्यवस्थापनको काम गृह मन्त्रालय ऐनमा व्यवस्थापन गरिएको पनि बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org