ताजा समाचार

राष्ट्रियसभाको शून्य समयमा सांसदहरूको गुनासो– ‘कोरोना परीक्षण किट अभाव भयो’

काठमाडौं । राष्ट्रियसभा सदस्यहरूले विभिन्न प्रदेशहरूमा कोरोना परीक्षण किटको अभाव भएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

राष्ट्रियसभाको शून्य समयमा बोल्ने सदस्यहरूले भारतबाट आउनेहरूलाई विनापरीक्षण नेपाल प्रवेश गराइएको र धेरै ठाउँमा परीक्षण किट अभाव रहेको बताएका छन् । राष्ट्रियसभा सदस्य इन्दु कडरियाले भारतबाट फर्किनेहरूको कुनै परीक्षण नगरी गाउँ फर्किने क्रम बढेको बताइन् ।

लकडाउनको समयमा बढाएर देशमा भोकमरी, बेरोजगारी, र आर्थिक संकट चुलिने अवस्था रहेकाले आगामी दिनमा लक डाउनको मोडालिटी परिवर्तन गरी आर्थिक गतिविधि अगाडि बढाउने गरी काम गर्न आग्रह गरिन् ।

यस्तै सदस्य कोमल वलीले क्वारेन्टाइन सुधारमा सरकारको ध्यान जान नसकेको बताइन् । प्रदेश नम्बर ५ मा संक्रमणको दर उच्च रहेपनि परीक्षण किट अभाव रहेकोप्रति उनले स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन् ।

सदस्य उदया शर्मा पौडेलले कोरोना संक्रमणको जोखिम मोलेर पनि निरन्तर सेवामा खटिएको संसद सचिवालयका कर्मचारीलगायत अन्य कर्मचारीलाई प्रोत्साहनको व्यवस्था गरी उनीहरूको मनोबल उच्च बनाउनुपर्ने बताइन् ।

सांसद तारादेवी भट्टले सुदूरपश्चिममा क्वारेन्टाइन र आइसोलेसनको व्यवस्था नहुँदा संक्रमणदर बढिरहेकोप्रति सरकारको ध्यानाकर्षण गराइन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org