ताजा समाचार

रुकुम घटना : दाँत भाँचिएको र टाउको फुटेको अवस्थामा भेटियो शव

जाजरकोट । गत जेठ १० गते रुकुमको चौरजाहरी नगरपालिकास्थित सोतीका स्थानीयबासीको आक्रमणमा परेर बेपत्ता युवकको शव खोलामा फेला परेको छ।

सोतीका स्थानीयले आक्रमण गरेपछि बेपत्तामध्ये अन्तिम युवक भेरी नगरपालिका-११ का १९ वर्षिय गोविन्द शाहीको शव त्यही नगरपालिका-१२ स्थित भेरी नदीको क्षेत्रमा मंगलबार साँझ फेला परेको हो।  उनको शव भेरी कपडाले टाउको बाँधेको, दाँत भाँचिएको र टाउको फुटेको अवस्था फेला परेको खोजतलासमा जुटेका  छवि पन्तले जानकारी दिए।

यसभन्दाअघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।  रुकुमको चौरजहारी नगरपालिका-८, सोतीगाउँकी मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न गएका जाजरकोटको भेरी नगरपालिका-४ का नवराज विकसहित युवाहरूमाथि स्थानीयले आक्रमण गरेका थिए।

त्यसक्रममा बेपत्ता भएका सबै युवाहरुको शव नदीमा भेटिएको हो।  यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा  भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो।  त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो।

६ जना मध्ये दुई जनाको शव घटनालगत्तै  फेला परेको थियो। सबैभन्दा पहिले भेरी नगरपालिका–४ का नवराज बिक र गणेश बुढा मगर तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेटिएको थियो।  चौरजहारी नगरपालिका–८ सोती गाउँका स्थानीयले लखेटेपछि ज्यान जोगाउन भेरी नदीमा हामफालेकाशव बिहीबार फेला परेसँगै मृत्यु हुनेको संख्या ६ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org