ताजा समाचार

कर्णाली प्रदेशले ल्यायो ३३ अर्ब ७४ करोडको बजेट

सुर्खेत । कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार रुपैयाँको बजेट ल्याएको छ ।

आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सोमबारको कर्णाली प्रदेशसभामा पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार (५७ प्रतिशत), चालुतर्फ ११ अर्ब ६७ करोड ५७ लाख ३२ हजार (३४ प्रतिशत) र वित्तीय हस्तान्तरणतर्फ २ अर्ब ९९ करोड ६५ लाख रुपैयाँ (९ प्रतिशत) विनियोजन गरेको जानकारी दिए ।

चालु खर्च अन्तर्गत नै कोरोना महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि ८७ करोड ४१ लाख, रोजगारतर्फका कार्यक्रममा २ अर्ब ५८ करोड २६ लाखका कार्यक्रम पनि रहेको मन्त्री ज्वालाले बताए । तीबाहेका अन्य कार्यक्रम तथा प्रशासनिक खर्चमा ८ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन गरेको र यो कुल बजेटको २५ प्रतिशत रहेको पनि उनले प्रदेशसभालाई जानकारी गराए ।

बजेटको स्रोतमा आन्तरिक राजस्वबाट ३० करोड ६ लाख ५३ हजार, चालु आर्थिक वर्षके खर्च हुन बाँकी रकमबाट ११ अर्ब १९ करोड ९ लाख ८५ हजार, संघीय सरकारबाट राजस्व बाँडफाँटवापत आउने ७ अर्ब ३९ करोड ५६ लाख, वित्तीय समानीकरण अनुदानबाट प्राप्त भएको ९ अर्ब ६३ करोड २९ लाख र सशस्त्र अनुदानबाट ४ अर्ब ४९ करोड ११ लाख परिचालन गर्ने योजना मन्त्री ज्वालाले प्रस्तुत गरे ।

त्यस्तै नेपाल सरकारबाट प्राप्त हुने समपूरक अनुदानवापत २५ करोड २५ लाख, विशेष अनुदानवापत ४६ करोड प्राप्त हुने अनुमान कर्णाली प्रदेश सरकारको छ । वैदेशिक सहायतामा सञ्चालित हुने कार्यक्रममा १ करोड ७६ लाख १५ हजार रुपैयाँ स्रोत परिचालन हुने मन्त्री ज्वालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org