ताजा समाचार

कान्छो जिल्ला रुकुम पुर्वमा ‘सेफ हाउस’ सञ्चालन

सर्जना कार्की/रुकुम (पुर्व) ।  दुर्गम हिमाली जिल्ला रुकुम –पूर्व) मा जिल्लाकै पहिलो अल्पकालीन आवास गृह (सेफ हाउस) सञ्चालनमा आएको छ ।

हिंसापीडित महिला र बालबालिकाका लागि जिल्लाको सिस्ने गाउँपालिकाले सदरमुकाम रुकुमकोटमा सेफ आउस सञ्चालनमा ल्याएको हो ।
गएको जेठ १ गते बसेको गाउँकार्यपालिका बैठकले सेफ हाउस सञ्चालन कार्यविधि २०७७ पास गरेको थियो । सोहीअनुसार जेठ ७ गतेबाट सेफ हाउस सञ्चालनमा आएको हो ।

सेफ हाउस महिला बहुउदेश्यीय सहकारी संस्थामार्फत सञ्चालनमा ल्याइएको छ । सेफ हाउसमा अहिले एकजना मनोविमर्शकर्ता राखिएको छ ।
हिंसामा परेका महिला र बालबालिकालाई न्याय नपाएर समाजमा पुनस्र्थापना नहुँदासम्म अल्पकालीन समयका लागि राखिने उद्देश्यले सेफ हाउस निर्माणको अवधारणा ल्याइएको सेफ हाउस सञ्चालन निर्देशक समितिकी अध्यक्षसमेत रहकी गाउँपालिका अध्यक्ष कुमारी बरालले बताइन ।
दुई आर्थिक वर्ष गरी संघ सरकारको ६५ लाख बजेटबाट ७ वटा कोठा र एउटा हलसहितको भवन निर्माण गरी सेफ हाउस सञ्चालनमा ल्याईको हो । गत वर्षको फागुन १८ मै संघिय सांसद कमला रोकाले भवनको उद्धघाटनसमेत गर्नुभएको थियो ।
रुकुमकोट जिल्ला सदरमुकाम भएकाले पनि सेफ आउसमा सिस्ने गाउँपालिकाका मात्र नभइ जिल्लाभरकै हिंसा पिडीत महिला र बालबालिकालाई राख्ने अध्यक्ष बरालले बताइन । सेफ हाउस सञ्चालनमा आएको एक महिना भइसक्दा अहिलेसम्म कोहिपनि सेफ हाउसमा बस्न आएका छैनन् ।
जिल्लामा भर्खरै सेफ हाउस स्थापना भएकाले यसबारेमा जानकारी नभएर र कोरोना महामारीको बेलामा भएको लकडाउन र घरको झगडा बाहिर ल्याउन नचाहेर लगाएतका कारणले सेफ हाउसमा बस्न पिडितहरु नआएको हुनसक्ने छलफलमा सहभागीहरुले बताएका छन् ।
यस्तै आइतबार संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष युएनएफपीए र सिद्धार्थ सामाजिक विकास केन्द्रले सेफ हाउस सञ्चालनको आवश्यक सामाग्री हस्तान्त्रण गरेका छन् ।

सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष पौम नारायन पौडेलले सेफ हाउस सञ्चालनको लागि गाउँपालिकालाई १ लाख ४५ हजार बराबरको टीभी, डिस र ल्याप्टोप हस्तान्त्रण गर्नुभएको छ । टीभिमा एक वर्षसम्मको रिचार्जसमेत गरिएको छ भने मनोसामाजिक विमर्शकर्ताको लागि मासीक ८ हजार रकम पनि छुट्याएको छ ।
यस्तै यो भन्दा अगाडि पनि सेफ हाउस सञ्चालनको लागि ३ लाख १५ हजार बराबरका लत्ताकपडा, फर्निचर, खाद्यान्न तथा भान्साका सामग्री हस्तन्त्रण गरेको युएनएफपीएका जिल्ला संयोजक भूवन सेजुवालले जानकारी दिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org