ताजा समाचार

फेक न्युज कुन कारखानामा उत्पादन हुन्छन् खोज्दैछाैँ : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालमा फेक न्युज कुन कारखानामा उत्पादन भएका छन् भन्नेबारेमा खोजी भइरहेको बताएका छन् । केहीदिन अघि कृषि मन्त्रालय नापी शाखाको प्रतिवेदनमा आधारित रहेर सार्वजनिक सञ्चारमाध्यमले नेपालका विभिन्न भूभागहरु चीनले अतिक्रमण गरेको भन्ने समाचार बनाएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै यसबारेमा कृषि मन्त्रालयले नै खण्डन गरिसकेको बताएका थिए । उनले नेपाल र चीनबीच सीमा सम्बन्धमा समस्या नभएको बताएका छन् ।

जुन प्रतिवेदनलाई आधार बनाएर समाचार बनाइएको थियो त्यो सम्बन्धित मन्त्रालयले नै खण्डन गरिसकेको उनको धारणा थियो । नेपाल र चीनको सीमा सम्बन्धि सन्धि समाचारमा भनिएजस्तो सीमा संकेत चिन्हहरु ३७ र ३८ खडा नै नगरिएको हुनाले सीमा सारियो वा भत्काइयो भन्ने खालका गलत समाचार प्रकाशित भएको उनको धारणा थियो ।

उनले दुई देशका बीचमा भ्रम छर्ने समाचार सार्वजनिक नगर्न परराष्ट्र मन्त्रालयले स्पष्ट पारिसकेको बताए ।

“प्रायोजित ढंगले फेक न्युज नेपालका कुन कारखानामा उत्पादन भए ? कुनै पनि देशको इस्युमा छलफल हुन सक्छन्,” उनले भने, “हाम्रा सम्बन्ध पूर्ववत नै छन् । समग्र सम्बन्धको आयामलाई प्रभावित पार्नुहुँदैन । गलत सूचनाहरुले दिग्भ्रमित भएको हो ।”

सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भए ? भन्नेबारेमा आफूहरुले खोजी गरिरहेको बताएका छन् ।

“शोकल्ड प्रतिवेदन कुन कारखानामा उत्पादन भ एभनेर हामीले हामी खोजीरहेका छौं,” उनले भने । उनले नेपाल र भारतबीच देखिएको समस्या समाधानका लागि सरकार लागिपरेको बताए ।

“हामी भारतसँग सम्पर्कमै छौं । नेपाल सरकार कूटनीतिक तरिकाले समाधान गर्न सकिन्छ भन्ने मान्यता र विश्वास राखेको छ,” उनले भने, “कहिलेकाहिँ समय लाग्छ । बिना कुनै आवेग र उत्तेजनामा समस्या समाधान गरिनुपर्छ । उत्तेजित बनाउने प्रयास कहीँ कतैबाट हुन सक्छन् । इतिहासले गाँठो नफुकाएकाले अहिले समस्या देखिएको हो । समस्या समाधान गरेर मात्रै विश्वासमा आधारित घनिष्ट सम्बन्ध कायम गर्न सकिन्छ ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org