ताजा समाचार

परिस्थिति नबिगार्न शीर्षनेतालाई खबरदारी गर्ने दोस्रोपुस्ताका नेताहरुको निर्णय

काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरविरोध र गुटबन्दी जटिल बन्दै जाँदा दोस्रोपुस्ताका नेताहरुले पनि बेग्लै भेला र छलफल थालेका छन् ।

केपी ओली, प्रचण्ड र माधव नेपाल तीनै पक्षका दोस्रो पुस्ताका ११ जना नेताहरुले शुक्रबार बिहान एकै ठाउँमा भेला भएर शीर्षनेताहरुलाई विवाद चर्किने गतिविधिहरु नगर्न खबरदारी गर्ने निर्णय गरेका हु्न् ।

शुक्रबार बिहान पुल्चोकस्थित कृषिमन्त्री घनश्याम भुसालको निवासमा भएको भेलामा केपी ओली पक्षका नेताहरु विष्णु रिमाल, शंकर पोखरेल, प्रदीप ज्ञवालीसमेतको सहभागिता थियो  । भेलामा प्रचण्ड पक्षका टोपबहादुर रायमाझी, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत, वर्षमान पुन र मणि थापा सहभागी थिए । त्यसैगरी माधव नेपाल समुहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल र योगेश भट्टराई सहभागी थिए ।

‘पार्टीभित्रको एकता बचाइराख्न र परिस्थिति अरु बिग्रन नदिनका लागि सबैले आ–आफ्नो समूहका शीर्षनेताहरुलाई आग्रह गर्ने निर्णय भएको छ’ भेलामा सहभागी एक नेताले भने, ‘एक अर्कामा दूरी बढ्ने गतिविधि नगर्न र कार्यकर्तालाई नउराल्न सबैले आ–आफ्ना नेताहरुसँग आग्रह गर्ने सहमति भएको छ ।’

दोस्रो पुस्ताका नेताहरुको भेलाले एकताको आधार खोज्ने सहमति गरेका छन् । यसका लागि थप छलफल गर्दै जाने नेताहरुवीच सहमति भएको छ ।

दोस्रो पुस्ताका नेताहरुको भेलाले पार्टीभित्रको अन्तरविरोध मथ्थर पार्न सबैले शीर्षनेताहरुलाई संयमित रहन आग्रह गर्ने निर्णय गरेको भेलामा सहभागी टोपबहादुर रायमाझीले अनलाइनखबरलाई बताए । पूर्वमाओवादी खेमाका नेता रायमाझीले अनलाइनखबरसँग भने, ‘हामी ११ जना बस्यौं । पार्टीभित्र जुन स्तरको विवाद भइराखेको छ, यसलाई नियन्त्रणमा लिने, साम्य पार्ने र त्यसपछि असहमतिहरुलाई सहमतिमा बदल्दै एकतालाई सुदृढ पार्ने निर्णय भएको छ ।’

दोस्रो पुस्ताका नेताहरुले विवाद साम्य पार्ने भनिरहँदा प्रधानमन्त्री केपी ओलीको समर्थकबाट सडकमा जुलुसै निस्कन थालिसक्यो नि भन्ने अनलाइनखबरको प्रश्नमा नेता रायमाझीले भने, ‘पार्टीभित्रको समस्या पार्टीभित्रै हल गरिनुपर्छ, सडकमा लैजानुहुँदैन । जसले सडकमा प्रर्दशन गरिरहेको छ, त्यो तत्काल रोकिनुपर्छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org