ताजा समाचार

गैंडाको खागसहित चार जना सिनामंगलबाट पक्राउ

काठमाडौं । प्रहरीले गैंडाको खागसहित चारजनालाई पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसरले काठमाडौं महानगरपालिका-९ सिनामङ्गलस्थित एक क्याफेबाट सोमबार  खाग बिक्री गर्न लागेको अवस्थामा पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको गंगा जमुना गाउँपालिका-४ घर भई ललितपुर गोदावरी नगरपालिकाको टौखेल बस्ने ६० वर्षीय सरोज गुरूङ, सिन्धुलीको दुधौली-११ घर भई भक्तपुर नयाँठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, सुर्खेतको विरेन्द्रनगर-११ घर भई काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पूर्ण परियार र सिन्धुली खुर्कोट घर भई काठमाडौं महानगरपालिका -९ सिनामंगल बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन् ।

खागको बिक्री वितरण भइरहेको विशेष सूचनाको आधारमा खटिएको टोलीले खानतलास गर्दा बुद्धि क्षेत्रीको झोलाबाट गैंडाको एउटा खाग बरामद गरेको छ ।

पक्राउ परेका चारैजनालाई थप अनुसन्धान तथा कारबाहीका लागि बरामद खागसहित डिभिजन वन कार्यालय हात्तीसार पठाइएको महानगरीय प्रहरी परिसर, काठमाडौंले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org