ताजा समाचार

कर्णाली प्रदेश सरकारको बजेट सर्वसम्मतिले पारित

काठमाडाैँ । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/७८ को विनियोजन विधेयक सर्वसम्मत पारित भएको छ ।

१ महिनादेखि छलफलका क्रममा रहेको कर्णाली प्रदेश सरकारको विनियोजन विधेयक २०७७/०७८ सर्वसम्मतले बुधबार पारित भएको हो ।

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो । सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको मुख्यमन्त्री शाहीले बजेटलाई उत्पादक क्षेत्रमा विनियोजन गरिनुपर्दछ भन्ने कुरामा प्रदेश सरकारको ध्यानाकर्षण भएको बताए ।

‘काम गर्नका लागि अपर्याप्त संरचना र जनशक्ति हुनाका साथै भएको जनशक्ति पनि कम अनुभवी भएकाले समस्या उस्तै छ,’ उनले भने, ‘कर्णालीको मुहार सबैले मिलेर गर्न जरुरी छ ।’ कर्णालीको बजेट कोरोना केन्द्रित परिस्थितिबमोजिम मूलभूत रूपमा महामारी नियन्त्रण, भोकमरी न्यूनीकरण र रोजगारी सिर्जनामा केन्द्रित रहेको मुख्यमन्त्री शाहीले बताए ।

त्यसैगरी, बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले सदनमा उठेका कुरा सरकारका लागि मार्गदर्शन भएको प्रतिक्रिया बताए ।

कर्णाली प्रदेश सरकारले आव २०७७/०७८ का लागि कुल ३३ अर्ब ७४ करोड रुपैयाँको बजेट ल्याएको छ । कुल बजेटमध्ये पुँजीगत खर्च ५७ प्रतिशत, चालू खर्च ३४ प्रतिशत र वित्तीय हस्तान्तरणतर्फ ९ प्रतिशत विनियोजन गरिएको छ ।

मुलुकको करिब २१ प्रतिशत भूगोल, ६ प्रतिशत जनसंख्या र चालू आर्थिक वर्षमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा कर्णाली प्रदेशको योगदान करिब ४.३ प्रतिशा योगदान रहेको आर्थिक मामिला तथा योजनामन्त्री ज्वालाले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org