ताजा समाचार

नेकपा प्रवक्ता श्रेष्ठले भारतीय मिडियालाई भने- बकवास बन्द गर

काठमाडाैँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवक्ता तथा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले भारतीय सञ्चार माध्यमहरूले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालको सरकारबारे अनर्गल प्रचार गरेको बताएका छन्।

उनीहरूको अनर्गल प्रचारले सीमा नाघेको, हद भएको भएको उल्लेख गर्दै प्रवक्ता श्रेष्ठले बकवास बन्द गर्न भारतीय सञ्चार माध्यमहरूलाई आग्रह गरेका छन्।

उनले बिहीबार ट्वीट गर्दै नेपालको राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति नेपाली एकढिक्का रहेको पनि उल्लेख गरेका छन्।

‘विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिने छैनौं,’ श्रेष्ठले भनेका छन्, ‘यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’ उनले प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचार बन्द गर्न पनि आग्रह गरेका छन्।

‘हाम्रो सरकार र प्रधानमन्त्रीका बारेमा अनर्गल प्रचारले सीमा नाघ्यो। हद भयो। बकवास बन्द गर,’ उनले भारतीय मिडियालाई भनेका छन्।

नेपालले लिपुलेक, लिम्पियाधुरा क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेपछि पछिल्लो समय भारतीय मिडियामा प्रधानमन्त्री ओली र नेपालमा चिनियाँ प्रभाव भन्दै अतिरन्जित सामग्रीहरू प्रकाशन प्रसारण भइरहेका छन्।

टाइम्स अफ इन्डियाजस्तो पत्रिकाले समेत प्रधानमन्त्रीको आपत्तीजनक स्केच बनाएर समाचार छापेको छ भने जी न्युजको बिहार झारखण्ड टेलिभिजनले त प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदूत होउ यान्छीले हनी ट्रयापमा पारेको भिडिओ सामग्री प्रसारण गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org