ताजा समाचार

आईजीपीलाई बधाई दिँदै गृहमन्त्रीले भने– शान्ति, सुरक्षा र अमनचयन कायम हुने विश्वास लिएको छु

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नवनियुक्त आईजीपी शैलेश थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् ।

‘तपाईंको कार्यकालमा शान्ति, सुरक्षा, अमनचयन कायम हुने विश्वास लिएको छु,’ गृहमन्त्रालयमा बिहीबार भएको भेटमा गृहमन्त्री थापाले भने, ‘मेरो पूर्ण साथ र समर्थन रहन्छ ।’

ट्राक रेकर्डका आधारमा योग्य देखेर नै जिम्मेवारी दिएको भन्दै गृहमन्त्री थापाले समायोजनको काम टुंगोमा छिटो पुग्ने गरी काम गर्न आईजीपी थापालाई निर्देशन समेत दिए ।

‘राज्यले विकासलाई प्राथमिकतामा राखेको छ, त्यसका लागि शान्ति सुरक्षा अनिवार्य शर्त हो,’ भेटको क्रममा गृहमन्त्री थापाले भने, ‘त्यसमा विशेष ध्यान दिनुहोस् ।’

सोही क्रममा गृहसचिव महेश्वर न्यौपानेले पनि आईजीपी थापा क्षेत्रीलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै टिमवर्कमा काम गर्न निर्देशन दिए ।

भेटको क्रममा नवनियुक्त आईजीपी थापा क्षेत्रीले आफू गृहमन्त्रालयप्रति आभारी रहेको भन्दै आफ्नो कार्यकालमा इमान्दारीपूर्वक राज्यले दिएको जिम्मेवारीलाई पूरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org