ताजा समाचार

‘महानायक’ विवाद : दिपाश्रीलाई क्षमा गरिदिन फ्यानसँग राजेशको आग्रह

काठमाडाैँ । केही दिनदेखि व्यापक बनिरहेको ‘महानायक’सम्बन्धी विवादमा अभिनेता राजेश हमालले अन्ततः अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलालाई माफी दिएका छन् ।

एक टेलिभिजन अन्तर्वार्तामा नायिका निरौलाले नायक हमाललाई ‘उहाँ महानायक हो र !’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा हमाल समर्थकले उनलाई एकाेहाेराे गाली गरिरहेका छन्।

नायिका निरौलाले यसअघि नै फेसबुकमा लामो स्पष्टीकरण लेख्दै हमालका फ्यानसँग माफी मागिसकेकी छन् भने उनकै टोलीका कलाकार दीपकराज गिरी, केदार घिमिरेले समेत सामाजिक सञ्जालमार्फत यस प्रकरणमा हमालसँग क्षमा मागिसकेका छन् ।

कलाकार दीपकराज गिरीले त केही दिनअघि साढे २१ मिनेटको फेसबुक लाभइ गर्दै धेरैचोटी हातै जोडेर हमालसँग माफी मागेका छन् ।

त्यस लगत्तैजसो अभिनेता हमालले मंगलबार राति फेसबुकमै भिडियो सन्देश जारी गर्दै यस विषयमा मुख खोलेका हुन् । तर भिडियोमा उनले दीपाश्री निरौलाको नाम लिएका छैनन् । ‘हालै मेरा सहकर्मीले दिएका केही अभिव्यक्तिले अहिले निकै आक्रोश देखिएको छ’ भन्दै नायक हमालले त्यसमा ‘सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला’ भनेका छन् ।

कोरोना महामारीले संसारलाई दुःख दिइरहेको प्रसंगबाट भनाइ सुरु गरेका हमालले कला क्षेत्र जोड्दै यो विषयमा बोलेका छन् । आफूमा सहिष्णुता रहेको उल्लेख गर्दै उनले भनेका छन्, ‘यो (कला) क्षेत्रका लागि, मानवताका लागि सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org