ताजा समाचार

लमजुङमा पहिरोले १८ घर पुर्‍यो, जोखिमको आकलनले स्थानिय जोगिए

काठमाडाैँ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–३, तरापु पल्लोटारी गाउँमा पहिरो खस्दा १८ वटा घर पुरिएको छ ।

जम्मा ७४ घर रहेको उक्त गाउँका सबै घरमा पहिरोले क्षति पुर्‍याएको स्थानीयले बताएका छन् । केही दिनदेखिको अविरल वर्षाका कारण बुधबार बिहान पौने १० बजेतिर पहिरो खस्दा गाउँलेको घर पुरिएको स्थानीय राजकुमार मिजारले बताए । उनका अनुसार मंगलबार पहिरो गएपछि २१ घरपरिवार नजिकैको स्कुलमा बस्न गएका थिए ।

मंगलबार पहिरो गएको ठाउँबाट पुन: पहिरो गएकाले घरहरु पुरिएको तर, गाउँलेहरु भने मंगलबार नै स्कुलमा सरेकाले मानवीय क्षति नभएको मर्स्याङ्दी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष प्रेमबहादुर बस्नेतले बताए । उनका अनुसार पहिरो खस्दै गर्दा भाग्ने क्रममा ४ जना घाइते भएका छन् । पहिरोले पुरिएका घरका सामान झिक्ने क्रममा माथिबाट पहिरो झर्न थालेपछि भाग्ने क्रममा स्थानीय घाइते भएका थिए ।

उद्धारकार्यमा खटिएका पल्लोगाउँ सेग्लेका गुमानसिंह भण्डारीका अनुसार पहिरोले घरहरु पुरिँदा घरभित्रका सामानहरु निकाल्न पाइएको छैन । स्थानीय साथै वरपरका बासिन्दा उद्धार कार्यमा संलग्न रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले पहिरो गएको जानकारी पाउनेबित्तिकै घटनास्थल पुगेर घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको बताए ।

लमजुङका डीएसपी गंगाबहादुर थापाका अनुसार मंगलबार केही घरमा क्षति पुर्‍याएकोमा बुधबारको पहिरोले सिंगो गाउँमा क्षति पुर्‍याएको बताए । घटनास्थलमै रहेका उनले सबैजना उद्धार कार्यमा जुटिरहेकाले क्षतिको विवरण अझै आइनसकेको बताए । ‘३/४ जना घाइते छन् । हिजो स्थानान्तरण भएकाले मानवीय क्षति भने हुन पाएन,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org