ताजा समाचार

रुकुममा पहिरोले घर बगाउँदा दुईको मृत्यु, चारजनाको उद्धार

रुकुम । रुकुम पश्चिममा पहिरोले घर बगाउँदा दुईजनाको मृत्यु भएको छ ।

जिल्लाको बाँफिकोट गाउँपालिका-९ स्यालामा मंगलबार बिहान घरमाथिबाट पहिरो आउँदा दुई युवाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

सोमबार रातभर परेको अविरल वर्षापछि आएको पहिरोले स्थानीय जसवीर कामीको घर बगाएको हो । पहिरोले घर बगाउँदा जसबीरका २२ वर्षीय छोरा नवीन विक र छिमेकीका १६ वर्षीय छोरा बलबहादुर सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख डिएसपी ठगबहादुर केसीले जानकारी दिए ।

पहिरोले घर बगाएको ५ घण्टा पछि नवीन र बलबहादुरको शव भेटिएको थियो । उक्त घटनामा अन्य ४ जनाको उद्धार गरिएको डिएसपी केसीले जानकारी दिए ।  जसवीरकी पत्नी ६० वर्षीया झुपी कामी, बुहारी २२ वर्षीया व्युझना कामी, नातिनी ५ वर्षीया कोपिला कामी र ३ वर्षीया रितु कामीको उद्धार गरिएको थियो ।

घरभन्दा १० मिटरमाथिबाट आएको पहिराले उक्त घर झण्डै डेढ सय मिटर तल रहेको किमाना खोलामा पुर्‍याएको छ । घरको माथिल्लो तलामा सुतेकालाई प्रहरी र स्थानीयले जीवितै उद्धार गरेका थिए भने तल्लो तलामा सुतेका नवीन र बलबहादुर घरसँगै बगेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org