ताजा समाचार

अछाम बाढी अपडेट : ६ जनाको शव भेटियो, ११ जना बेपत्ता

काठमाडाैँ । अछामको रामारोसन गाउँपालिकामा मंगलबार राति आएको बाढीले बगाएर ६ जनाको मृत्यु भएको छ भने थुप्रै घरसहित पुलसमेत बगाएको छ ।

बाढीले दर्जनौं परिवार विस्थापित भएका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी योगेन्द्रसिंह थापाका अनुसार ४ जनाको शव बान्नीगढी जयगढ गाउँपालिका–६ दर्नाको कोसेडा क्षेत्र र २ जनाको शव मंगलसेन नगरपालिका-३ रलेको लमतणा र सेरीमा भेटिएको छ ।

दर्नाको पक्की पुलसमेत बगेको स्थानीय पुष्प विष्टले जानकारी दिए । ‘रामारोसन गाउँपालिका–५ को सैनीबजारमा दुई दर्जनभन्दा बढी मान्छे सम्पर्कविहीन भएका छन् । हामी अहिले सैनीबजार जाँदै छौं,’ उनले भने, ‘खालबजार, मुजाबगर, सैनीबजार, गजड, अल्लेडीलगायत धेरै ठाउँमा मानवीय र भौतिक क्षति भएको छ ।’

कैलास खोलाको बाढीले छेउछाउका घर, पसल र खेत बगाइदिएको उनले बताए । विष्टका अनुसार दर्नाको सबैभन्दा बढी धान उत्पादन हुने नगरर्नाको कोसेडा खेत बगर बनेको छ ।

घटनाबारे जानकारी पाएपछि प्रहरी टोली घटनास्थलतर्फ लागेको डीएसपी थापाले जानकारी दिए । उनका अनुसार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीसहितको टोली घटनास्थल गइरहेको छ ।

बाढीमा १८ जनाजति सम्पर्कविहीन रहेको खबर आएको प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले बताए । ‘सुरक्षाकर्मीको टोली घटनास्थल पुग्न अझै समय लाग्ने देखिन्छ । घाइतेको उद्धारका लागि हेलिकप्टर पठाइदिन प्रदेश र केन्द्र सरकारलाई अनुरोध गरेका छौँ,’ उनले भने ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org