ताजा समाचार

‘५ मिनेटमै बगर बन्यो सैनीबजार, सुतेकाहरु भेटिएनन् बिहान’

काठमाडौं । अछामको रामारोशन गाउँपालिका ५ स्थित सैनीबजारमा मंगलबार दिनभर सामान्य अवस्थामै थियो ।

सैनीबजारमा चलहपहल पनि सामान्यै थियो । सानो बजार सानै जनसंख्या । बजारमा कसैको पसल थियो त कसैको घर । पसल र घर सँगै हुनेहरु पनि थिए । साँझ ७ बजेबाट पानी पर्न थाल्यो । सैनीबजारको माथिल्लो भेकमा रहेको लेकतर्फ भारी वर्षा हुन थाल्यो र तर त्यही पानीले एकाएक बजार ध्वस्त पार्ला भन्ने कल्पना कसैले गरेका थिएनन् ।

रामारोशन गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउँद भन्छन्, “पानी पर्दै गएपछि माथिल्लो भेकमा रहेका तालहरुबाट पनि पानी कैलाश खोलामा आइपुग्यो । कैलाश खोलाले ढुंगा, रुख र पहिरो सँगै बगाउन थाल्यो । एकाएक सुनामीजस्तै देखिन थाल्यो ।”

त्यसले रातको १२ बजे सैनीबजार बगायो । खाना खाएर सुतेकाहरु पनि त्यही भेलमा बगे । उनले भने, “कसैलाई बचाउन सकिएन । ५ मिनेटमै सबै सकियो । सुतेकाहरु ऐयासमेत भन्‍न पाएनन् । राति सुतेकाहरु बिहान भेटिएनन् । ४-५ सय पशुचौपाया बगेका छन् । बजार केही बाँकी रहेन । सबै मरभूमिजस्तै भइदियो ।”

बाढीले १७ जना बेपत्ता भएका छन् । जसमध्ये ६ जनाको शव फेला परेको छ भने अन्यको खोजी जारी छ । नेपाली सेना, प्रहरी, सशस्त्र, स्थानीयले बेपत्ताको खोजी तथा उद्धार जारी राखेका छन् । सैनिबजार ०६२/६३ मा स्थापना भएको थियो । बेपत्ता हुनेमा बालबालिका बढी छन् । बाढीले हजारौं हेक्टरमा पनि क्षति पुगेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org