ताजा समाचार

होटल तथा रेष्टुरेन्ट पूर्ण रुपमा खुल्ने , सवारीमा जोर/बिजोर कायमै

काठमाडौँ । उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले होटल तथा रेष्टुरेन्ट सञ्‍चालनमा लगाएको रोक बिहीबारदेखि हटाइएको छ ।

निषेधाज्ञा सम्बन्धि आदेशहरुको पुनरावलोकन गर्दै टेकअवेमात्र सञ्चालन गर्न दिइएको होटल तथा रेष्टुरेन्टहरुलाई अर्को आदेश नभएसम्म सञ्‍चालन खुला गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए ।

दाहालका अनुसार काठमाडौं उपत्यकामा लगाइएको सवारी साधनको जोर/बिजोर भने कायमै राखिएको छ । निजी र सार्वजनिक सवारीको जोर/बिजोर प्रणाली अर्को आदेश नभन्जेल कायम रहने छ । काठमाडौं उपत्यकाबाट बाहिर जाने र उपत्यकामा सवारी साधन प्रवेशलाई अर्को आदेश नभन्जेल खुला गरिएको छ । मन्त्रिपरिषद्ले भोली असोज १ गतेदेखि लामो दूरीका यातायात खुलाउने निर्णय गरिसकेको छ । स्वास्थ्य प्रोटोकल कायम राखेर उपत्यकामा आउन जान दिने निर्णय भएको उनले बताए ।

यस्तै विभिन्न व्यवसायमा लगाइएका निषेधात्मक आदेश पनि हटाइएको छ । विभिन्न व्यापार व्यवसायका लागि बारअनुसार खोल्ने पाउने गरी गरिएको आदेश बिहीबारदेखि लागू हुने छैन । उपत्यकामा सबैखाले पसल सबै बार खोल्न पाइने छ । यो पनि अर्को आदेश नहुँदासम्म स्वास्थ्यसम्बन्धि सावधानी अपनाएर खोल्न दिइएको हो ।

उपत्यकाका तीनै जिल्लाका प्रजिअले गृह सचिव महेश्वर न्यौपानेसँगको छलफलपछि यस्तो निर्णय गरेका हुन् । काठमाडौं जिल्ला प्रशासनले निषेध गरिएकाहरुका गतिविधिबारे सूचना प्रकाशित गरेको छ ।

सैलुन तथा ब्युटी पार्लर, सिनेमा हल र जिम, पब र स्पा भने खोल्न पाइने छैन । यस्तै, शैक्षिक संस्था, सभा समारोह, पार्टी तथा विरोध र्‍याली र सभामा लगाइएको रोक पनि कायमै राखिएको छ । चाडपर्व नजिकिएसँगै निषेधाज्ञामा लचकता अपनाइएको प्रशासनले स्रोतले बताएको छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org