ताजा समाचार

तीन करोड लिटर पानी हालेर रानीपोखरी भरियो

काठमाडौं । काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ ।

खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।

यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए ।

थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो । रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org