ताजा समाचार

काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना संक्रमण

काठमाडौँ। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ७११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ७११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ५७०, भक्तपुरमा ८३ र ललितपुरमा ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

शुक्रबार उपत्यकामा ८५९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज नेपालमा कोरोना पुष्टि भएका एक हजार २०४ जनामध्ये ७११ जना काठमाडौँ उपत्यकाका हुन् ।

शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले देशभरमा थप एक हजार २०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । आज देशभरमा सक्रिय संक्रमितको संख्या १७ हजार १२९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १० हजार ३३३ पीसीआर परीक्षण भएसँगै नेपालमा अहिलेसम्म भएको पीसीआर परीक्षणको संख्या ९ लाख ४ हजार ७०६ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप एक हजार ४४७ जना कोरोना संक्रमित निको भएसँगै जम्मा निको हुनेको संख्या ४५ हजार २६७ पुगेको छ । यो कूल संक्रमितको ७२ प्रतिशत हो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org