ताजा समाचार

कृषि क्षेत्रमा नयाँ व्यवस्था आउँदै छ : मन्त्री भुसाल

काठमाडाैँ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले कृषिक्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् ।

झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दाबी गरे ।

उनले कृषिक्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधानबमोजिम हुने र त्यसले कृषिक्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको  समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । ‘नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन,’ मन्त्री भुसालले भने, ‘कृषकले उत्पादन गरेको हरेक वस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जानेछ ।’

कृषिक्षेत्रमा अहिले सयौँ समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागिपरेको बताउँदै मन्त्री भुसालले अबको दुई/तीन वर्षमा कृषिक्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे । उनले कृषिक्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैँबाट सुशासनको काम सुरु गरेको बताए ।

सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुसालले सरकारका जुनसुकै कार्यक्रमहरू अहिलेको संविधानबमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए । ‘सरकारअगाडि बढ्न सरकारको टिका टिप्पणी आवश्यक छ,’ मन्त्री भुसालले भने, ‘यो सरकार संविधानभित्र छ र संविधानलाई कार्यान्वयन गर्नका लागि सरकारका सबै संरचना ठीक ढङ्गले सञ्चालन भइरहेका छन् ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org