ताजा समाचार

भारतीय संसदमा नेपाल-चीन सम्बन्धको चर्चा

काठमाडौं। भारतका विदेश राज्यमन्त्री भी. मुरलीधरनले चीनसँग नेपालको बढ्दो निकटताले भारतसँगको सम्बन्धमा कुनै असर नगर्ने जनाएका छन्।

भारतको राज्यसभामा उनले नेपाल र भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित रहेको योग्यताको आधारमा अघि बढेको जनाउँदै अन्य देशसँग तुलना नहुने समेत बताए।

“नेपालसँग भारतको सम्बन्ध आफ्नै विशेषतामा आश्रित छ,” राज्यसभामा पछिल्ला वर्ष नेपालले चीनसँग गरेको पारवहन लगायतका सम्झौताले नेपाल–भारत सम्बन्धमा असर गर्छ की गर्दैन ? भनि सोधिएको प्रश्नको जवाफ दिदै मुरलीधरनले भने, “नेपालको अन्य देशसँगको सम्बन्धको प्रभाव भारतसँगको सम्बन्धमा पर्दैन।”

राज्यसभाको मंगलबारको बैठकमा सांसद ज्योतिरादित्य एम. सिन्धीयाले ‘भारतसँगको परनिर्भरता हटाउन नेपालले चीनसँग पारवहन सम्झौतामा हस्ताक्षर गरेको बारेमा भारतलाई थाहा छ की छैन ? यी सम्झौताले भारतसँगको सम्बन्धमा कुनै प्रभाव पार्छ की पार्दैन ?’ भनी प्रश्न गरेका थिए। त्यसैको जवाफमा विदेश राज्यमन्त्रीले चीनसँग भएका सम्झौताले भारतसँगको सम्बन्धमा प्रभाव नपार्ने बताएका हुन्।

“नेपालसँग सम्बन्ध मजबुत बनाउन र सहयोग बढाउनको लागि भारत प्रतिबद्ध छ। व्यापार, आर्थिक सहायता, विकास सहयोग, पारवहन सुविधा, संस्कृति तथा जनता–जनताबीचको सम्बन्ध मजबुत र विस्तार गर्न हामी प्रतिबद्ध छौं,” विदेश राज्यमन्त्री मुरलीधरनले भने।

उनले सन् २०१९ को अप्रिलमा राष्ट्रपति विद्यादेवी भण्डारीले चीन भ्रमण गर्दा नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा हस्ताक्षर भएको जानकारी राज्यसभालाई दिएका थिए।

नेपाल र भारतबीच युगौं पुरानो सम्बन्ध अद्भुत र विशिष्ट रहेको दाबी उनले गरे। नेपाल–भारत सम्बन्ध साझ इतिहास, भूगोल, संस्कृति, जनता–जनताबीच निकट सम्बन्ध, आपसी सुरक्षा र निकट आर्थिक सम्बन्धमा आधारित रहेको उनले जनाए।

उनले नेपालको कूल वैदेशिक व्यापारको दुई तिहाई भारतसँग रहेको जानकारी दिए। नेपालले अन्य देशसँग गर्ने आयात निर्यातको ९० प्रतिशत अंश भारत हुँदै भइरहेको समेत उनले राज्यसभालाई जानकारी दिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org