ताजा समाचार

बहराइनका राजकुमार खलिफाको टोली हिमाल आरोहणका लागि लुक्ला प्रस्थान

काठमाडौं । हिमाल आरोहणका लागि राजपरिवारसहितको टोली बुधबार विमानमार्फत लुक्ला जाने कार्यक्रम भए पनि मौसममा आएको खराबीका कारण बिहीबार मात्रै हेलिकोप्टरमार्फत त्यसतर्फ प्रस्थान गरेको छ ।

बुधबार नै पुग्ने कार्यक्रम रहे पनि उडान हुन नसक्दा काठमाडौंमा नै रोकिएको सो टोली अहिले केहीबेरअघि हेलिकोप्टरमा त्यसतर्फ प्रस्थान गरेको हो ।

कैलाश हेलिकोप्टरमार्फत राजकुमार नासिर बिन हामिद अल खलिफासहितको टोली लुक्ला प्रस्थान गरेको हो । १८ जनाको टोली लुक्ला आउने कार्यक्रम बुधबार नै तय भए पनि मौसम प्रतिकूल हुँदा तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा बुधबार कुनै उडान नभएको कार्यालयले जनाएको थियो ।

खुम्बु क्षेत्रमा पर्ने लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार गत बुधबार नेपाल आएका थिए ।  राजकुमारको टोली शेख इशा एअरवेजबाट विशेष विमानमार्फत गत बुधबार काठमाडौं आएको थियो । टोलीमा बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १५ बहराइनी र तीन  बेलायती रहेको बताइएको छ ।

विश्वव्यापी कोरोना महामारीकाबीच लामो समयपछि मङ्गलबार दुई जर्मनेली खुम्बु भित्रिएका छन् । उनीहरु काठमाडौंबाट पीसीआर परीक्षण गराएर विमानमार्फत खुम्बु आएको गाउँपालिकाले जनाएको छ । लामो समयपछि खुम्बु आएका विदेशी पर्यटकलाई खुम्बुबासीले स्वागत गरेका थिए ।

 

 

 

 

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org