ताजा समाचार

बालुवाटारमा ओली-प्रचण्डको भेट, मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल हुने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटघाट जारी छ ।

दुई अध्यक्ष, ओली–प्रचण्डबीच भर्खरै सुरु भएको भेटवार्तामा मन्त्रिपरिषद् पुनर्गठन र संवैधानिक नियुक्तिबारे छलफल हुने स्रोतको दाबी छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य थालिसकेका छन् ।

सचिवालय बैठकमा दुई वर्षे अवधि गुजारेकालाई बिदा दिने, प्रधानमन्त्रीबाहेक सबै मन्त्रीहरूलाई बिदा दिएर आवश्यकलाई पुनर्नियुक्ति दिने, मन्त्रालय फुटाउने र रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि, सहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्ने आदि विकल्पमा छलफल भएको थियो ।

त्यस्तै प्रधानमन्त्रीले ऊर्जा, जलस्रोत तथा सिञ्चाई मन्त्रालय फुटाएर ऊर्जा र जलस्रोत तथा सिञ्चाई मन्त्रालय अलगअलग बनाउने, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाएर वाणिज्य तथा आपूर्ति मन्त्रालय अलग्गै बनाउने विकल्पमा पनि प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।

यो सबै प्रधानमन्त्रीको विशेषाधिकार भएको नेम्वाङको भनाइ छ । “पार्टीको राय, सुझाव लिइसक्नुभएको छ,” उनले भने । दुई अध्यक्षको आजको छलफलले पार्टी एकताका बाँकी, थाति रहेका कामलाई पूर्णता दिने विषयमा पनि गृहकार्य गर्ने बुझिएको छ । भदौ ६ गते बसेको सचिवालय बैठकले १० दिनभित्र गृहकार्य गरेर खाका बुझाउन अध्यक्षद्वय र महासचिव विष्णु पौडेललाई जिम्मा दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org