ताजा समाचार

वालिङ पहिरोमा एकै परिवारका ९ जनाको मृत्यु

काठमाडाैँ । स्याङ्जाको छुट्टाछुट्टै दुई ठाउँमा गएको पहिरोमा परी ज्यान गुमाउनेको संख्या १० पुगेको छ ।

वालिङ नगरपालिका–१४ तमादीमा बिहीबार बिहान गएको पहिरोमा परी एकै परिवारका नौ जनाले ज्यान गुमाएका छन् भने, कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा १ जनाको मृत्यु भएको छ ।

तमादीमा बिहीबार बिहान ६ बजे घरमाथिबाट आएको पहिरोमा परी बेपत्ता भएका १० जनामध्ये ९ जनाको मृत्यु भएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ । मृत्यु हुनेमा ७ महिनाका शिशुसमेत रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजेन्द्र अधिकारीका अनुसार पहिरोमा परी मृत्यु हुनेहरुमा ६० वर्षीया सानी नेपाली, ४८ वर्षीया माया नेपाली, २८ वर्षीया उमाकला नेपाली, ३० वर्षीय दीपक नेपाली, २१ वर्षीय कुलदीप नेपाली, १६ वर्षीया विनिता नेपाली, १४ वर्षीय विक्रम नेपाली र ९ वर्षीय विवश नेपाली रहेका छन् ।

उमा मायाकी बहिनी हुन् । उनी पाहुना आएकी थिइन । यसैगरी, मायासहित उनका ४ जना छोराहरु दीपक, कुलदीप, विक्रम र विवशको पनि मृत्यु भएको छ । विनिता कुलदीपकी श्रीमती हनुन् । पहिरोमा परी मृत्यु भएका ७ महिने शिशु उनीहरुकै हो ।

पहिरोमा परी मायाकी छोरी १६ वर्षीया मनिषा नेपाली घाइते भएकी छन् । उनलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ ।

त्यसैगरी बिहीबार बिहान २ बजे कालीगण्डकी गाउँपालिका–४ मा गएको पहिरोमा परी १६ वर्षीय विष्णु दमाईको मृत्यु भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org