ताजा समाचार

राखेपले माग्यो क्यानसँग स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सेन्ट्रल कन्ट्रयाक्टमा परेका राष्ट्रिय क्रिकेट टिमका पुरुष र महिला खेलाडीको वर्गीकरणको विषयमा नेपाल क्रिकेट संघ (क्यान) सँग स्पष्टीकरण सोधेको छ ।

राखेपले बिहीबार क्यानलाई क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारणबारे स्पष्टीकरण सोधेको हो । राखेपले क्यानलाई सात दिन भित्र स्पष्टीकरण बुझाउन समेत निर्देशन दिएको छ ।

क्यानले गरेको खेलाडी वर्गीकरणको चौतर्फी विरोध भएपछि राखेपले वर्गीकरणको निर्णयलाई लिएर स्पष्टीकरण सोधेको हो ।

राखेपले क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको विषयमा गम्भीर ध्यानाकर्षण भएको समेत जनाएको छ ।

‘क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) र विभिन्न क्रिकेट खेलाडीले क्यानको वर्गीकरण चित्त बुझ्दो नभएको भनी राखेपमा निवेदन दर्ता गराएको सम्बन्धमा राखेपको गम्भीर ध्यानाकर्षण भएको छ,’ राखेपको विज्ञप्तिमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरुको वर्गीकरणको आधार र वर्गीकरणमा नपर्नका कारण समेत राखेपमा ७ दिन भित्र स्ष्टीकरण पेश गर्न निर्देशन दिइएको व्यहोराको पत्र क्यानका अध्यक्ष र सचिवलाई इमेल मार्फत पठाइएको छ।’

यस्तै राखेपले खेलाडीहरुको वर्गीकरण गर्ने निर्णयको भने स्वागत गरेको छ ।

‘नेपाल क्रिकेट संघ (क्यान) को यहि असोज ६ गते चितवनमा भएको साधारण सभाले पुरुष/महिला क्रिकेट खेलाडीहरुको वर्गीकरण गरेको सम्बन्धी जानकारी विभिन्न सञ्चारमाध्यमबाट अवगत भयो। क्यानको उक्त निर्णयलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) स्वागत गर्दछ’, राखेपको विज्ञप्तिमा भनिएको छ ।

गत असोज ६ गते चितवनको भरतपुरमा बसेको क्यानको बोर्ड बैठकले पुरुष तथा महिला खेलाडीको वर्गीकरणलाई पारित गरेको थियो ।

क्यानले पुरुषतर्फ १८ र महिलातर्फ १९ खेलाडीलाई सेन्ट्रल कन्ट्रयाक्टमा राखेको थियो ।

तर, संघका कोषाध्यक्ष रोशन कुमार सिंहको नेतृत्वमा रहेको समितिले बनाएको वर्गीकरणको चौतर्फी विरोध भएको थियो ।

विरोध भएपछि क्यानले खेलाडी वर्गीकरण परिमार्जन गर्ने बताएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org