ताजा समाचार

दिल्ली आईपीएलको शीर्ष स्थानमा, सन्दीपले मौका पाएनन्

काठमाडाैँ ।  नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द दिल्ली क्यापिटल्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जीत हात पारेको छ ।

सारजाहमा गएराति भएको खेलमा दिल्लीले कोलकत्ता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको हो ।

सारजाह क्रिकेट मैदानमा दिल्लीले दिएको २ सय २९ रनको लक्ष्य पछ्याएको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो ।

कोलकत्ताका लागि नितिश रानाले ५८ रनको अर्धशतकीय इनिङ्स खेले भने इयान मोर्गनले ४४ र राहुल त्रिपाठीले ३६ रन बनाए ।

शुबमन गिल २८, आन्द्रे रसेल १३ रनमा आउट हुँदा कप्तान दिनेश कार्तिक ६ रनमा पभेलियन फर्किए ।

दिल्लीका एन्रीच नोर्ट्जेले ३ विकेट लिए भने हर्सल पटेलले २ तथा अमित मिश्रा, मार्कुस स्टोइनिस र कागिसो राबडाले १–१ विकेट लिए ।

दिल्लीका सुरुवाती चार खेलमा नेपाली लेग स्पिनर सन्दीपले भने खेल्ने मौका पाएका छैनन् । तेस्रो पटक आईपीएल खेलिरहेका सन्दीप लगातार चौंथो खेलमा पनि टिममा नपरेका हुन् ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाएर २ सय २८ रनको विशाल योगफल बनाएको थियो ।

दिल्लीका लागि कप्तान श्रेयस अय्यरले ३८ बलमा अविजित ८८ रन बनाए भने पृथ्वी शाले ४१ बलमा ६६ रनको योगदान दिए । ऋषब पन्तले ३८ रन जोडे भने शिखर धवनले २६ रन बनाए ।

कोलकत्ताका आन्द्रे रसेलले २, वरुण चक्रवर्ती र कमलेस नगरकोटीले एक एक विकेट लिए ।

जितसँगै दिल्ली ४ खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकत्ताले ४ खेलमा ४ अंक जोडेर पाँचौ स्थानमा छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org