ताजा समाचार

भारतीय सेनाध्यक्ष नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु

काठमाडाैँ । भारतीय सेनाका सेनाध्यक्ष मनोजमुकुन्द नरवाणेको नेपाल भ्रमणका लागि तयारी सुरु भएको छ।

गत माघ २० गते नै मन्त्रीपरिषद् बैठकले भ्रमणको लागि आमन्त्रण गर्ने निर्णय गरेको थियो।

तर कालापानी क्षेत्रमा भारतद्वारा नेपाली भूमि अतिक्रमणको नेपालले गरेको विरोधबारे नरवाणेले दिएको अभिव्यक्ति विवादास्पद भएका कारण र कोरोना महामारीले गर्दा उनको भ्रमण तालिका प्रभावित भएको थियो।

ढिला भएको उनको भ्रमणका लागि हालै प्रक्रिया पुनः सुरु भएको सैनिक स्रोतले जनाएको छ। नरवाणेलाई पुनः भ्रमणको लागि सेनाले निमन्त्रणा पठाउने तयारी गरेको छ।

मन्त्रालयबाट स्वीकृति लिएर सेनाले भ्रमणका लागि निम्ताे दिने तयारी गरेको हो। दुईपक्षीय सहमतिमा भ्रमण तालिका र समय निर्धारण हुने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले बताए।

भ्रमणको मिति तय भइनसकेको तर कात्तिकमा हुने गरी तयारी सुरु गरिएको सेनाले जनाएको छ।

नेपाल भ्रमणका क्रममा भारतीय सेनाध्यक्षले राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ प्रधानसेनापतिको उपाधी ग्रहण गर्नेछन्।

नेपाल भारतबीच एक अर्काका सेनाध्यक्षलाई मानार्थ प्रधानसेनापतिको उपाधी प्रदान गर्ने चलन छ।

यसअघि भारत भ्रमणका क्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले भारतीय सेनापतिको मानार्थ ग्रहण गरेका थिए।

सेनाध्यक्ष नरवाणेले भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली, रक्षामन्त्री ईश्वर पोखरेल र आफ्ना नेपाली समकक्षी पूर्णचन्द्र थापासँग भेटघाट गर्ने भए पनि त्यसको पूर्ण तालिका तयार भइसकेको छैन। यसको टुंगो लागिसकेपछि जानकारी गराउने सेनाले जनाएको छ।

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितका आफ्ना भूभाग समेटेर नक्सा जारी गरेसँगै भारतसँगको सम्बन्ध चिसिएको छ। त्यसपछि नरवाणे पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन्।

नेपालले कालापानी, लिपुलेक तथा लिम्पियाधुरामा भारतले गरेको अतिक्रमणको विरोध गर्नुका साथै नेपालको सो भूमि समेटेर अद्यावधिक नक्सा जारी गरेपछि नरवाणेले एक कार्यक्रममा चीनको उक्साहटमा नेपालले यी कदम चालेको बताएका थिए।

उनको सो अभिव्यक्तिप्रति नेपालले कडा आपत्ति जनाएको थियो भने भारतमै पनि उनको सो भनाइको विरोध भएको थियो।

तर पछिल्ला दिन भने नेपाल र भारतबीच पुनः विभिन्न तहमा औपचारिक तथा अनौपचारिक वार्ता सुरु भएका छन् र सम्बन्धमा सुधार हुँदै गएको अनुमान गरिएको छ।

यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच प्रत्यक्ष कुराकानी, परराष्ट्र मन्त्रालयका केहि संयन्त्रबीच बैठक लगायत गतिबिधि सुचारु भएका बेला सेनाध्यक्षको बैठक समेत हुन लाग्नुलाई सम्बन्ध सुधारकै सिलसिलाको रुपमा लिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org