ताजा समाचार

लोन्ली प्लानेटको घुम्नैपर्ने १० उत्कृष्ट ठाउँमा नेपाल पनि

एजेन्सी । कोरोना महामारीका कारण यतिबेला भ्रमण क्षेत्र सबैभन्दा नराम्ररी प्रभावित भएको छ । यस वर्ष धेरैले आफ्नो यात्राको योजना रद्द गर्नुपरेको हो । तर यसबीच भविष्यका अड्भेन्चरका लागि भनेर लोन्ली प्लानेटले यो वर्ष पनि नयाँ ‘अल्टिमेट ट्राभल लिस्ट’ अर्थात् घुम्नैपर्ने १० उत्कृष्ट गन्तव्यहरुको सूची सार्वजानिक गरेको छ ।

यसमा लोन्ली प्लानेटका विज्ञहरुले जीवनमा एकपटक देख्नैपर्ने र अनुभव गर्नैपर्ने ठाउँहरु मात्र छनोट गरेका छन् । यो सूची, २०२१ को यात्रालाई प्रेरित गर्ने उद्देश्यसाथ तयार पारिएको लोन्ली प्लानेटका उपाध्यक्ष टम हलले बताए ।

यसको दश नम्बरमा नेपालको ‘अन्नपूर्ण सर्किट’ रहेको छ जहाँ एकपटक हाइक गरिसकेपछि जीवनभरका लागि भुल्न नसकिने दृश्य र अनुभव बटुल्न सकिने बताइएको छ । विशेषगरी ट्रेकिङ, हाइकिङ लगायत पैदल यात्रा गर्न मन पराउनेहरुले नेपालको यो ठाउँ छाड्न नहुने बताइएको छ ।

यात्राभर हामीले धानैधानका खेतबारी, याकहरु चरिरहेका हरिया मैदान र नजिकैबाट विभिन्न हिमाल अनि पहाडहरु देख्न सक्नेछौँ ।

हिँड्दै जाँदा केही भाग उचाइमा तिलिचो ताल पनि देख्न पाइनेछ जसले भ्रमणलाई अझ उत्साहपूर्ण बताइदिनेछ । लोन्ली प्लानेटले भने अनुसार ‘अन्नपूर्ण सर्किटमा एउटा उत्कृष्ट ट्रेकसँग हुनुपर्ने सबै राम्रा कुरा छन् ।’

त्यस्तै बाँकी सूचीमा चाहिँ बोलिभियाको ‘सलरदे युनी’ नौऔँ स्थानमा छ । यो विश्वकै सबैभन्दा ठूलो ‘सल्ट फ्ल्याट’ हो जहाँ हिँड्दा बादलहरु माझ यात्रा गरिरहेको अनुभूति हुने बताइएको छ । अझ पानी पर्दा त त्यहाँका तालको सल्टी सतह सिसा जस्तै चिल्लो हुने र ऐना जस्तैगरि स्पष्ट छाँया देख्न सकिनेछ ।

आठौँ स्थानमा कम्बोडियाको ‘टेम्पल अफ अंकोर’ रहेको छ जहाँ जङ्गलले घेरिएका थुप्रै सुन्दर मठमन्दिरहरु छन् । यो ठाउँ युनेस्कोको विश्व सम्पदामा पनि पर्दछ । यसैगरी ब्राजिलको ‘इगुवाजु’ झरना सातौँ नम्बरमा छ । अर्जेन्टिना र ब्राजिलका बीचमा रहेको सो झरना अत्यन्तै सुन्दर छ । २७५ झरनाहरु मिलेर बनेको यो ठूलो झरनाले प्रकृतिको शक्ति र सुन्दरता एकसाथ प्रकट गर्न सक्ने लोन्ली प्लानेटले बताएको छ ।

छैठौँमा स्लोभेनियाको ‘लेक ब्लेड’ पर्दछ । यो तालको बीचमा रहेको टापुमा एउटा सानो सेतो चर्च पनि रहेको छ । १९ औँ शताब्दीमा यो ठाउँ राजपरिवारको घुम्न आउने स्थल थियो । अहिले चाहिँ पर्यटकहरुले त्यस ताल वरिपरि हिँडेर या साइकलिङ गरेर पनि दृश्यको मज्जा उठाउन सक्छन् ।

उत्कृष्ट गन्तव्यको पाँचौ स्थानमा अमेरिकाको ‘यल्लोस्टोन नेस्नल पार्क’ रहेको छ । एकपटक त्यहाँ घुमिसकेपछि सो क्षणलाई सजिलै बिर्सन नसकिने बताइएको छ । वन्यजन्तुहरु पाइनुका साथै यो ठाउँलाई पृथ्वीकै सबैभन्दा ठूलो ‘जिओथर्मल’ अर्थात भू–तापीय क्षेत्र पनि भनिन्छ । त्यहाँ अमेरिकाको सबैभन्दा ठूलो तातोपानीको झरना रहेको छ जहाँ विभिन्न रङका पानीबाट बन्ने इन्दे्रणी देख्न सकिन्छ ।

चौथो स्थानमा बेट्सवानाको ‘ओकाभान्गो डेल्टा’ रहेको छ । हरेक वर्ष ओकाभान्गो नदिमा बाढी आउँदा त्यहाँ सुन्दर वनजङ्गलहरुले जीवन पाएको देख्न सकिन्छ । त्यसैगरी यो क्षेत्र दुर्लभ हात्तीहरुदेखि जलथल प्राणी सबैको एकमात्र घर हो र अफ्रिकाको सबैभन्दा ठूलो र ‘एक्सक्लुसिभ सफारी’ गन्तव्य पनि मानिन्छ । सूचीको तेस्रो स्थानमा अष्ट्रेलियाको ‘उलुरु काता तजुता नेस्नल पार्क’ रहेको छ । विशेषगरी सूर्य अस्तको समयमा त्यहाँ देखिने दृश्य कहिल्यै भुल्न नसकिने बताइएको छ ।

दोस्रो स्थानमा युक्याडरको ‘गालापेगोस टापु’ रहेको छ । यस टापुको सबैभन्दा ठूलो विशेषता भनेकै दुर्लभ र रङ्गीचङ्गी वन्यजन्तु हुन् । ज्वालामुखीबाट निर्मित ढुङ्गाहरु, गाढा नीलो पानी र विविध ‘इकोसिस्टम’ ले यसलाई लोन्ली प्लानेटको दोस्रो स्थानमा ल्याएको बताइएको छ ।

यसरी पहिलो स्थानमा चाहिँ जोर्डनको पेत्रा रहेको छ । कुनैबेला हराएको शहर नाम दिइएको यसलाई युरोपेलीहरुले वास्तवमै एक हजार वर्षसम्म बिर्सिएका थिए । त्यही ठाउँ अहिले भने भ्रमणका लागि उत्कृष्ट गन्तव्य बनेको छ । धेरै इतिहास र संस्कृति बोेकेको यो स्थल युनेस्कोको विश्व सम्पदामा पनि पर्दछ । टमले यो ठाउँलाई अति रहस्यमयी र उत्साहपूर्ण गन्तव्यका रुपमा व्याख्या गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org