ताजा समाचार

प्रचण्डले धुम्बाराहीमा नेम्वाङलाई सोधे- प्रधानमन्त्रीको धारणा के छ?

काठमाडाै ।   सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीमा अहिले विवाद उत्कर्षमा छ।                                                                            प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लगाएका आरोपको लिखित जवाफ दिन १० दिनको समय मागेपछि नेकपाको औपचारिक बैठक बसेको छैन, तर दुबै पक्षले अनौपचारिक रूपमा भेटघाट र छलफल भने गरिरहेका छन्।                                          यस्ता अनौपचारिक भेटघाट र छलफल यसअघि अध्यक्ष प्रचण्डले आफ्नो खुमलटारस्थित निवासमा गर्ने गरेका थिए। प्रचण्डलाई भेट्न ओली पक्षीय नेताहरू  खुमलटारमै  पुग्थे।

शुक्रबार भने प्रचण्डले प्रधानमन्त्री ओली पक्षका दुई नेता अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेल र संसदीय दलका उपनेता सुवास नेम्वाङलाई पार्टी कार्यालय धुम्बाराहीमा भेटेका छन्।

उनीहरू दुई जनासँग प्रचण्डले धुम्बाराहीमा छुट्टाछुट्टै  कुराकानी गरेका हुन्। सुरूमा प्रचण्डले महासचिव पौडेलसँग कुरा गरेका थिए।

स्रोतका अनुसार भेटमा महासचिव पौडेलले प्रचण्डले उनले कात्तिक २८ गतेको सचिवालयमा राखेको प्रतिवेदन फिर्ता लिन आग्रहका गरेका थिए। उक्त प्रतिवेदन फिर्ता लिएर दुई अध्यक्षले संयुक्त रूपमा प्रतिवेदन लेख्नु पर्ने बताएका थिए।

प्रचण्डले छलफल गरेर जाऔं न भनेका थिए। उनीहरूबीच झन्डै आधा घन्टा  कुराकानी भएको थियो।

प्रचण्डसँगको कुराकानीपछि पौडेलले पत्रकारहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै परिस्थिति निकै गम्भीर रहेको बताएका थिए।

पौडेलसँग कुरा गरेपछि प्रचण्डले नेता नेम्वाङसँग पनि धुम्बाराहीमा छलफल गरेका थिए।

छलफलका क्रममा पार्टी विवादको निकासबारे कुरा भएको नेम्वाङले जानकारी दिए।

‘मैले  स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने बेलामा तपाईंहरूले  अभियोग पत्र दर्ता गराउनु भयो, त्यसले पार्टी पंक्ति र जनतामा राम्रो सन्देश गएन भनें,’ प्रचण्डसँगको कुराकानी उद्धृत गर्दै नेम्वाङले भने,‘तपाईंहरूले पार्टी एकता गर्नुभएको हो। यसलाई जोगाउने जिम्मा पनि तपाईंहरूकै हो भनें।’

जवाफमा प्रचण्डले  आफूले सचिवालयमा दर्ता गरेको प्रस्तावले बाहिर त्यति नराम्रो सन्देश पनि नगएको बताएका  थिए।
उनले प्रधानमन्त्री ओलीको पछिल्लो धारणा के छ भनेर पनि नेम्वाङलाई सोधेका थिए।

‘मैले प्रधानमन्त्री चिन्तित हुनुहुन्छ।  तर पार्टी एकता जोगाउन उत्तिकै दृढ हुनुहुन्छ भनें,’ नेम्वाङले भने,‘उहाँले प्रतिवेदन बनाउने भन्नुभएको छ, त्यो बनाउनु हुन्छ।’

प्रचण्डले आफू पनि पार्टी एकताको डोरी चुँडिन नदिने  गरी लाग्ने बताएको नेम्वाङले जानकारी दिए।

‘म पनि  पार्टी  एकताको डोरी चुँडिन दिन्नँ। तपाईंहरू पनि लाग्नुस् भन्नुभयो,’  नेम्वाङले भने।

आजै उपप्रधानमन्त्री तथा नेकपा सचिवालय सदस्य ईश्वर पोखरेल पनि पार्टी कार्यालय धुम्बाराहीमा गएका थिए। तर उनी र प्रचण्डबीच भेटघाट भएको पुष्टि भएको छैन।

पौडेल र नेम्वाङसँग भेटेपछि प्रचण्ड अहिले धुम्बाराहीबाट फर्किसकेका छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org