ताजा समाचार

भारतमा १० करोड डोज स्पुतनिक खोप उत्पादन गर्ने रुसको घोषणा

काठमाडाैँ । कोरोना भाइरस विरुद्धको रसियाली स्पुतनिक भी खोप भारतमा उत्पादन गरिने भएको छ ।

भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज खोप उत्पादन गर्ने सहमति भएको रसियाको खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष (आरडीआइएफ) ले एक विज्ञप्ति प्रकाशन गरी भारतीय कम्पनी हेटेरोले प्रति वर्ष १० करोड डोज खोप उत्पादन गर्ने बताएको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि नै प्रारम्भ हुनेछ ।

यसै साताको प्रारम्भमा रसियाले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो । अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको बताइसकेका छन् ।

रसियाले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति डोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । यो अन्य खोपको तुलनामा निकै सस्तो रहेको बताइएको छ ।

रसियाले गत अगस्टमै कोरो नाभाइरस विरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर, ठूलो स्तरको क्लिनिकल परीक्षण बेगर नै रसियाले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशंका उत्पन्न भएको थियो ।

हाल स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रूपमा सहभागिता जनाएका छन् । तेस्रो चरणको परीक्षण पूर्व सोभियत गणतन्त्र बेलारुस, युनाइटेड अरब इमिरेट्स र भेनेजुएला समेतका मुलुकमा जारी छ ।

भारतबाहेक आरडीआइएफले स्पुतनिक खोप ब्राजिल, चीन र दक्षिण कोरियामा समेत उत्पादन हुने जनाएको छ । आरडीआइएफका प्रमुख किरिल डिमिट्रिएभले शुक्रबार जारी गरेको विज्ञप्तिमा स्पुतनिक खोप निकै सफल देखिएकाले यसलाई प्रयोग गर्न धेरै मुलुक इच्छुक हुने विश्वास व्यक्त गरे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org