ताजा समाचार

भ्रष्टाचारी खोज्न कहीँ जानुपर्दैन, बालुवाटार गए पुग्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भ्रष्टाचारमा संलग्नहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले नै संरक्षण गरेको आरोप लगाएका छन् ।

कैलालीमा सोमबार आयोजित कार्यक्रममा थापाले भने, ‘प्रधानमन्त्री नाङ्गै सडकमा हिँडिरहनु भएको छ। हामीले भन्दा लागेन। अहिले प्रचण्ड र माधव नेपालले भनिरहनुभएको छ।’

प्रधानमन्त्री ओलीलाई सहयोग गर्ने प्रचण्ड र माधव नेपाल पनि नाङ्गै हिँडिराखेको उनको भनाइ छ।

‘प्रधानमन्त्री ओलीलाई कहिले अगाडि त कहिले पछाडि बोक्दा उहाँहरूले (प्रचण्ड र माधव नेपाल) आफू पनि नाङ्गिएको थाहा पाउनुभएन,’ उनले भने।

सांसद थापाले ओली सरकारका पालामा भ्रष्टाचार बढेको बताए। भ्रष्टाचारी खोज्न बालुवाटार र सिंहदरबारमा गए पुग्ने उनले बताए। ‘भ्रष्टाचारी खोज्न कहीँ जानु पर्दैन, बालुवाटार गए पुग्छ। सिंहदरबार गए पुग्छ,’ उनले भने।

उनले प्रधानमन्त्री ओली असफल भइसकेको दाबी गरेका छन्। सरकारले कोरोना नियन्त्रण तथा रोकथाममा काम गर्न नसकेको भन्दै उनले आलोचना गरेका छन्।

किसानले मल नपाएको र ऋण लिएर हजारौं युवाले गरेको व्यवसाय संकटमा परेका बेला पनि सरकारले सहयोग नगरेको थापाको भनाइ छ।

सुदुरपश्चिम प्रदेश सरकार र मुख्यमन्त्रीले जनअपेक्षाअनुसार काम नगरेको पनि उनले बताएका छन्।

उनले आफूहरू सरकारलाई खबरदारी गर्न सडक प्रदर्शनमा उत्रिएको थापाले बताए। ‘सडक खाली हुन हुन्न। सडक प्रतिपक्षको हो,’ उनले भने।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org