ताजा समाचार

शेष घलेको भाई हुँ भन्दै, ठगी धन्दा चलाउने गमबहादुर समातिँदै

काठमाडाैँ । खर्बपति शेष घलेको भाइको हवाला दिँदै धेरै जनासँग करोडौं ठग्दै हिँडेका गमबहादुर लामिछाने अन्ततः प्रहरी खोरमा जाकिने भएका छन् ।

देशी र विदेशीलाई विभिन्न प्रलोभनमा ठग्दै हिँडेपनि प्रहरीले खासै कारबाही गर्न नसकेका लामिछानेले बिदेशीबाट कब्जा गरिएको घर जग्गा फेरि फेरि सेन्ट्रल र सिभिलजस्ता फाइनान्स र बैंकमा धितो राख्दै कतै दुई,कतै सवा छ करोड लोन निकालेर मस्ती मार्दै हिंड्ने धन्दामा रोक लगाउने काठमाडौं जिल्ला अदालतको गत साताको आदेशपछि आफूलाई सक्कली घरधनीको उजुरीअनुसार  प्रहरीले समात्नसक्ने भन्दै निषेधाज्ञाको मागसहित माघ ८ गते उच्च अदालत पाटन पुगेका थिए । सबै सेटिङ्ग मिलाएर त्यता गएका लामिछाने त्यतिबेला झल्याँस्स भए जतिबेला हिजो बिहीबार अदालतको आदेश आयो ।

न्यायाधीशद्वय लोहितचन्द्र शाह र जगतबहादुर थापाको संयुक्त इजलासले दिएको आदेशअनुसार अब लामिछानेलाई जुनसुकै बखत प्रहरीले पक्राउ गर्ने बाटो झन् स्पष्टसँग खुलेको छ । आदेशमा ‘रिट निवेदकलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को अनुसूची १ र २ बाहेक देवानी दायित्वको विषयमा प्रस्तुत निवेदनको टुङ्गो नलागेसम्म पक्राउ नगर्नु नगराउनु’ भनिएको छ ।

कानुन व्यवसायीहरूका अनुसार अनुसूची १ र २ मा फौजदारी मुद्दाअन्तर्गत संगठित अपराध,चोरी डकैती,ज्यानमारा,आपराधिक लाभ प्राप्त गर्ने अन्य मुद्दाहरू,ठगीलगायतका सरकारवादी अपराधी मुद्दाहरू पर्छन् । आदेशमा अनुसूची १ र २ बाहेक अन्य कारोबारमा नसमात्नु  भन्नुको अर्थ अपराधिक मानसिकताका ठगी या अन्य जेसुकै धन्दामा चाहिँ नछोड्नु भनेको हो । उनीहरूका अनुसार त्यो भनेको एक किसिमले बिदेशीले आफ्नो नाममा चल अचल सम्पत्ति किन्न पाउँदैन,अहिले मेरो नाममा पास गरेर एक हप्तापछि नामसारी गरिदिन्छु भन्ने सम्झौता कार्यान्वयन  नहुँदा ठगीअन्तर्गत समातेर कार्वाही चलाउने अधिकार पुलिसलाई दिइनु हो । गमबहादुरले बिदेशी दम्पत्तिको छ करोड असी लाख लिएर घर मात्र आफ्नो बनाएनन् उल्टो डेढ बर्षदेखि अनेक थरी दु:खसमेत दिदै आए । फाइनान्सका सिइओहरुसङ्गै सिध्दार्थ बैंकको शून्य मौज्दातवाला खाता (ग्वार्कोको बिएण्ड्बी शाखा) बाट दुई करोड ९५ लाख डेढ करोड परिमाणका बाउन्स चेक भिडाउन पछि परेनन् । उनीबिरुध्द यस्ता केस अहिले दरवार मार्ग चौकीमा अनेक छन् ।

अदालतले निषेधाज्ञा माग गरिएको लामिछानेको निवेदनमा प्रत्यक्ष बुझिने गरी अन्तरिम आदेश दिँदा वा नदिँदा लफडा हुने भएपछि बीचको बाटो अपनाएको देखिन्छ । काठमाडौं जिल्ला अदालतको आदेशलाई नाघेर रजगज गर्ने बाटो खुल्ला राख्ने उद्देश्यसहित उच्च अदालत पुगेका गमबहादुर उल्टै फसेका हुन् । अब विगतको आपराधिक ठगी तथा लाभको केसमा प्रहरीले गमबहादुरलाई जुनसुकै बेला पक्राउ गर्न बाटो खुलेको बताइन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org