ताजा समाचार

जापानी राजदुत र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना बीच बिदाइ भेट

काठमाडाैं । नेपालका लागि जापानी राजदुत मासामिची साइगोले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेट गरेका छन् ।

राजदुत साइगोले आफ्नो तीनवर्षे कार्यकाल पुरा गरी स्वदेश फर्कनुअघि बिहीबार सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बिदाई भेट गरेका हुन् ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपाल र जापानबीच कूटनीतिक सम्बन्ध स्थापना भएदेखि मित्रता, समझदारी र द्विपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए ।

करिब एक वर्षदेखि कोरोना भाइरस महामारीका कारण विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिमा अबरोध भएको बताउँदै तिमिल्सिनाले खोप लगाउन थालीएकोले सहज हुने विश्वास व्यक्त गरे ।

‘जापान सरकारले पनि कोरोनाविरुद्धको खोपलाई अनुमति दिएसँगै यस रोगविरुद्धको लडाइँमा छिट्टै नै महत्वपूर्ण जित हासिल गर्ने अपेक्षा गर्दछु,’ उनले भने ।

जापान पाँच दशकदेखि नेपालको भरपर्दो विकास साझेदार राष्ट्र रहेको बताउँदै उनले जापानको सहयोगमा निर्मित विपि राजमार्ग, निर्माणाधिन तनहुँ हाइड्रो र नागढुंगा सुरुङमार्ग लगायतका योजना नेपाली जनताले सम्झिरहने बताए । पूर्वाधार विकाससँगै गरिबी निवारण, कृषि तथा साना र मझौला उद्यम, स्वास्थ्य, शिक्षाको क्षेत्रमा जापानको महत्वपूर्ण सहयोग रहिआएको पनि उनले स्मरण गरे ।

त्यसैगरी नेपालबाट गएका दक्ष कामदार, विद्यार्थी र त्यहाँ व्यवसाय गरेर बसिरहेका नेपाली तथा जापानबाट नेपाल आउने पर्यटक, स्वयंसेवकमार्फत दुई देशबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन सहयोग पुर्‍याउने बताए ।

भेटमा राजदूत साइगोले नेपाल र जापान बीचको कुटनीतिक सम्बन्ध जनस्तरसम्म सुमधुर रहेको बताएका छन् ।

उनले आफ्नो कार्यकालमा नेपालका तीन मन्त्रीले भ्रमण गरेको जानकारी गराउँदै दुई देशका संसदबीच अनुभव आदान–प्रदान भइरहेको बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org