ताजा समाचार

प्रदेशसभाको बैठक स्थगित गर्न मुख्यमन्त्रीको दबाब, सभामुखले भने– सधैँभरि बैठक रोक्न सकिँदैन

काठमाडाैँ । आइतबार दिउँसो दुई बजेका लागि डाकिएको प्रदेशसभाको बैठक नजिकिँदै गर्दा सभामुख प्रदीपकुमार भण्डारी र मुख्यमन्त्री शेरधन राईबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान मुख्यमन्त्री कार्यालयमा भेटवार्ता भएको हो ।

भेटमा मुख्यमन्त्री राईले सभामुख भण्डारीलाई प्रदेश १ प्रदेशसभाको बैठक स्थगित गर्न दबाब दिएको स्रोतले जनाएको छ ।

विराटनगरस्थित मुख्यमन्त्री निवासमा भएको भेटमा मुख्यमन्त्री राईले अहिलेकै अवस्थामा बैठक अगाडि बढ्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गर्न दबाब दिएको स्रोतले जनाएको छ ।

सभामुख भण्डारीले भने प्रक्रियाअनुसार अविश्वास प्रस्ताव दर्ता भएर टेबल गर्ने कार्यसूची तय भइसकेको भन्दै सधैँभरि बैठक रोकेर राख्न नसकिने जवाफ दिएको बताइएको छ ।

१२ पुसमा प्रदेशसभाका ३७ सदस्यले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेको भए पनि अहिलेसम्म उक्त प्रस्ताव संसद् बैठकमा टेबुल हुन सकेको छैन । ७ माघमा सुरु भएको प्रदेशसभाको हिउँदे अधिवेशनको पहिलो बैठक ३ मिनेटमै स्थगित भएको थियो ।

दोस्रो बैठक २५ माघमा अविश्वासको प्रस्ताव टेबुल गर्ने कार्यसूची निर्धारण भए पनि मुख्यमन्त्री पक्षकै सांसदको अवरोधका कारण स्थगित भएको थियो । सोही दिन सभामुख भण्डारीले ९ फागुनका लागि अर्को बैठक डाकेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org