ताजा समाचार

गत आइतबार बग्दादमा भएको बम आक्रमणमा परी ज्यान गुमाउने संख्या २५० पुग्यो

19_01_2016-iraq_siya_sunni
बग्दाद, २२ असार । इराकको राजधानी बग्दादमा ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको छ ।
यस हिंसालाइ सन् २००३ मा अमेरिकी नेतृत्वले गरेको आक्रमण यताको सवैभन्दा भीषण आक्रमणको रुपमा लिइएको छ । यस आक्रमणको इस्लामिक स्टेट ‘आइएस’ समूहले दाबी गरेका छन् ।आइतबार बिहान सबेरै भएको हमलामा ११९ जनाको ज्यान गएको जनाइएको थियो । सो हत्यापछि सरकारले गत सोमबारदेखि बुधबारसम्म तीन दिनको लागि राष्ट्रिय शोकको घोषणा गरेको थियो ।

इराकी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार उक्त क्षेत्रमा भएको बम हमलामा परी ज्यान जाने व्यक्तिको सङ्ख्या २५० पुगेको छ ।

आइतबार भएको सो आत्मघाती कारबम आक्रमणमा परी सयौं  व्यक्ति घाइते भएका थिए । इराकका स्वास्थ्य मन्त्रीका अनुसार यस आक्रमणमा घाइते भएका व्यक्तिहरु मध्ये कैयौ उपचारपछि घरफर्कि सकेका छन् ।

राजधानी बग्दादमा यस बर्षमा भएका यस्ता हिंसात्मक आक्रमणहरुमा यो सबैभन्दा भीषण आक्रमण भएको बताइएको छ ।

राजधानी बग्दादको नजिकै पर्ने कर्रादा जिल्लामा रहेको सडकमा यस्तो हमला गरिएको हो । मुसलमान समुदायको महान पर्व रमादानको अन्त्यमा हुने उत्सवको लागि धेरै सर्वसाधारण व्यक्ति किनमेलका लागि व्यस्त भएको स्थानलाई लक्ष्य गरेर सडकमा सो विस्फोटन गराइएको थियो ।

इराकमा आइएस आतङ्ककारी समूहले बारम्बार सिया मुसलमान समूहलाई लक्ष्यगरी आक्रमण गर्दै आएको पाइन्छ । बग्दाद र इराकभरी नै यस्ता आक्रमण बारम्बार हुने गरेका छन् ।

इराकी प्रधानमन्त्री हैदर अल अबादीले देशबासीका नाममा सम्बोधन गर्दै सोमबार देशव्यापी शोकको घोषणा गर्नुभएको थियो । उहाँले यस शोकको घडीमा आफू अत्यन्तै दुःखी र स्तब्ध भएको जानकारी दिनुभएको थियो ।

साथै प्रधानमन्त्री हादीले आफूले ती हत्यारालाई कानुनी कारबाहीको दायरामा जसरी पनि ल्याएरै छोड्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

इराकको फल्लुजा सहर आइएस लडाकू समूहबाट पूर्णरुपमा इराकी बलले नियन्त्रणमा लिएको एक हप्तापछि यो भीषण आक्रमण भएको बताइएको छ । फल्लुजा इराकको राजधानी बग्दादबाट ५० किलोमिटर पश्चिममा पर्दछ ।

इराकका सरकार विरोधी लडाकूहरुले सन् २०१४ को सुरुबाट नै इराकको फल्लुजा सहर कब्जा गर्दै आएका थिए । फल्लुजा सहर आइएस आतङ्ककारी समूहको एक बलियो प्रभाव रहेको सहरको रुपमा रहेको थियो ।
इराकी सुरक्षाबलले गत मे महिनाबाट सो सहर पुनः नियन्त्रणको लागि सुरु गरेको कारबाहीपछि गत हप्ता सुरक्षाबलले नियन्त्रणमा लिएको थियो ।

प्रधानमन्त्री हैदरले राजधानी बग्दादको सुरक्षा व्यवस्थामा आमूलपरिवर्तन गरिने जानकारी दिनुभएको छ ।

उहाँले सुरक्षामा सुधारको प्रक्रिया सुरु भइसकेको पनि सो सम्बोधनका क्रममा सोमबार बिहान नै जानकारी दिनु भएको थियो । रासस/एएफपी

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org