ताजा समाचार

थाइल्याण्डको आक्रमण आतङ्कवादी होइन : प्रहरी

imagesबैंकक, २८ साउन । थाइल्याण्डमा शुक्रबार बिहान भएका शृंखलाबद्ध आक्रमणमा आतङ्कवादीको कुनै हात नरहेको प्रहरीले जनाएको छ । 

थाई प्रहरीले शुक्रबार सो बम आक्रमणहरुको बारेमा अनुसन्धान गरेको र सो अनुसन्धानपछि उक्त निष्कर्षमा पुगेको जनाएको छ ।

थाइल्याण्डमा शुक्रबार बिहानसम्म गएको २४ घन्टायता कम्तीमा पनि ११ स्थानमा बम हमला भएको थियो । सो बम हमलामा परी चार जनाको ज्यान गएको थियो ।

विभिन्न पाँच प्रान्तमा भएको सो बम हमलामा परी अरु दर्जनौँ व्यक्ति घाइते भएका पनि जनाइएको छ । गएको २४ घन्टायता ती प्रान्तमा शृंखलाबद्ध रुपमा बम हमला भएको थियो ।

ती आक्रमणहरु आतङ्ककारी प्रकृतिका नभएका पाइएको प्रहरीको भनाई छ । थाई प्रहरी प्रवक्ता पियापान पिंगमुगले सो जानकारी दिनुभएको हो ।

यो घरायसी अतिवादीहरुको काम हो तर पनि सो आक्रमणमा थाइल्याण्डको कुन समूहको संलग्नता छ भन्ने बारेमा केही पत्ता लाग्न सकेको छैन– प्रवक्ता पिंगमुगले बताए ।

थाइल्याण्डका दक्षिणी प्रान्तहरुमा पछिल्ला वर्षहरुमा हिंसात्मक क्रियाकलापहरु हुने गरेका छन् । तिनै प्रान्तमा नै यो गएको २४ घन्टायता हिंसा मच्चिएको हो ।

ती क्षेत्रहरुमा शुक्रबार बिहानैदेखि कडा सुरक्षा व्यवस्था अपनाइएको छ । स्थानीय सञ्चारमाध्यमहरुले आतङ्कवादी हमला भएको जनाएका छन् । रासस/एएफपी  

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org