ताजा समाचार

पाकिस्तानले आतङ्ककारीलाई प्रश्रय दियो : भारतीय प्रधानमन्त्री मोदी

narendra-modi-reuters_635x476_81452748555

 

नयाँ दिल्ली, ३१ साउन । भारतले सोमबार ७० औँ स्वतन्त्रता दिवस मनाउँदै छ । उसले विशेष समारोहको आयोजना गरी सोमबार सो दिवस मनाइरहेको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ ।

सो दिवसका लागि मध्यनजर गर्दै भारतभर विशेष सुरक्षा व्यवस्था कायम गरिएको छ । विशेषगरी भारत प्रशासित काश्मिर र पाकिस्तान प्रशासित काश्मिरतर्फ सुरक्षा सतर्कता बढाइएको हो ।

स्वतन्त्रता दिवसलाई मध्यनजर गरी सो सुरक्षाको प्रबन्ध मिलाइएको राजधानी नयाँ दिल्लीबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ ।

भारतमा आफ्नो साम्राज्यवाद कायम राखेको बेलायत सन् १९४७ को अगष्ट १५ मा भारतबाट भागेको थियो ।
यसै दिनको स्मरण गरी भारतमा स्वतन्त्रता दिवस मनाउने गरिन्छ । हरेक वर्ष अगष्ट १५ मा पर्ने यस दिवस सोमबारको ७० औँ हो ।

सो अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीमा दिनुभएको स्वतन्त्रता भाषणमा छिमेकी पाकिस्तानको तिखो आलोचना गर्नुभएको छ ।

उहाँले पाकिस्तानले आतङ्ककारीहरुलाई प्रश्रय दिने गरेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– आतङ्कवादीहरुले भारतमाथि आक्रमण गरिरहेका छन् तर तिनैको गुणगान पाकिस्तानले गाइरहेको छ ।

हामीमाथि आक्रमण गर्नेलाई पाकिस्तानले जय जयकार गर्नेगर्छ तर पनि पाकिस्तानमा गत वर्ष भएको तालिवानको आक्रमणबाट कम्तीमा पनि १३० जना बालबालिका मारिएको घटनामा भने हामीले आतङ्कवादीहरुको कडा भन्दा कडा विरोध गरेका थियौँ– प्रधानमन्त्री मोदीले भन्नुभयो ।

साथै प्रधानमन्त्री मोदीले पाकिस्तानको बलुचिस्तान र पाकिस्तान प्रशासित काश्मिर क्षेत्रमा मानवअधिकार हनन गरेको आरोप पनि लगाउनुभयो ।

उहाँले भन्नुभयो– त्यस क्षेत्रका नागरिकले हामीलाई राम्रो मानेका छन् किनभने हामीले उनीहरुका समस्याको बारेमा विचार विमर्श गर्ने गरेका छौँ ।

काश्मिरमा बन्दुक हमला, १० सुरक्षाकर्मी घाइते

उता यसै दिन पारेर काश्मिरमा हिंसा भड्किएको पनि बताइएको छ । भारत प्रशासित काश्मिरमा हतियारधारीले गोली हानी दश जनालाई गम्भीर रुपमा घाइते बनाएका छन् ।

काश्मिरमा प्रहरीले कफ्र्यू आदेश जारी गरेको छ । सो कफ्र्यू उल्लङ्घन गर्न खोज्नेलाई कारबाही गर्ने क्रममा अज्ञात बन्दुकधारीले अकस्मात सुरक्षाकर्मीमाथि नै गोली प्रहार गरेका थिए ।

सो गोली लागेर भारतीय अर्धसैन्य बलका दश जना सदस्य नराम्ररी घाइते भएका समाचारमा जनाइएको छ ।
सो क्षेत्रमा सोमबार बिहानैदेखि ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । त्यस क्षेत्रमा कडा सुरक्षा व्यवस्था राखिएको प्राप्त समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org