ताजा समाचार

कोलम्बिया शान्ति सम्झौताको राष्ट्रसंघद्वारा स्वागत

un logo

संयुक्त राष्ट्रसंघ, ९ भदौ । कोलम्बिया सरकार र त्यहाँको बिद्रोही समूहबीच भएको शान्ति सम्झौताको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ ।

राष्ट्रसंघीय महासचिव बान कि मुनका तर्फबाट उहाँका प्रवक्ताले बिहीबार प्रकाशन गर्नुभएको सन्देशमा उहाँले कोलम्बियामा शान्ति स्थापनाका लागि भएको सो प्रयासको स्वागत गर्नुभएको उल्लेख गरिएको छ ।

कोलम्बियाको सबैभन्दा ठूलो विद्रोही समूह र त्यहाँको सरकारबीच वार्ताका माध्यमबाट सबै समस्याको समाधान खोज्नेगरी सहमति भएको थियो ।

कोलम्बियाका राष्ट्रपति जुआन म्यानुअल स्यान्टोस र त्यहाँको सो विद्रोही समूहका प्रमुख तिमोलिन जिमेनेजलाई उहाँले बधाई सन्देश पठाउँदै यस शान्ति सम्झौताका माध्यमबाट देशमा दिगो शान्ति स्थापनाका लागि सहयोग पुगोस भनी शुभकामना व्यक्त गर्नुभएको छ ।

कोलम्बिया सरकार र यहाँको एक विद्रोही समूहबीच क्युवाको हवानामा सन् २०१२ देखि नै शान्ति प्रक्रिया सुरु भएको थियो ।

करिब पाँच दशक लामो कोलम्बियाको सशस्त्र विद्रोहको अन्त्यका लागि भएको सो सम्झौताको सर्वत्र स्वागत भएको पनि त्यहाँबाट प्राप्त समाचारमा जनाइएको छ ।

जनाइएअनुसार सो विद्रोहका कारण समस्यामा परेका सबै कोलम्बियाली नागरिकलाई पनि उहाँले बधाई ज्ञापन गर्नुभएको छ ।

राष्ट्रपति ओबामाको बधाई

यसैबीच अमेरिकी राष्ट्रपति बाराक ओबामाले पनि सो शान्ति सम्झौताका लागि कोलम्बियाका राष्ट्रपतिलाई बधाई ज्ञापन गर्नुभएको छ ।

उहाँले बिहीबार बिहान फोन गरेर राष्ट्रपति स्यान्टोसलाई बधाई ज्ञापन गर्नुभएको बताइएको छ । ह्वाइटहाउसका अनुसार उहाँले टेलिफोनमार्फत राष्ट्रपतिमार्फत कोलम्बियाली नागरिकलाई पनि बधाई दिनुभएको छ ।

साथै राष्ट्रपति ओबामाले शान्ति प्रक्रियाको पूर्ण सफलताका लागि पनि शुभकामना व्यक्त गर्नुभएको बताइएको छ । रासस/सिन्ह्वा

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org