ताजा समाचार

राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु

download

पोखरा, १७ भदौ । पोखराको लामाचौरमा आजदेखि तीज महोत्सव र राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।

नव आदर्श सामुदायिक विकास समाजको आयोजनामा आजदेखि १९ गतेम्म हुने सो भलिबल प्रतियोगितामा ६ समूहको सहभागिता रहेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, नेपाल आर्मी क्लब, नेपाल प्रहरी क्लब, न्यू डायमन्ड एकेडेमी, पश्चिमान्चल टप्स मावि र मध्य–पश्चिमाञ्चल भलिबल समूहको सहभागिता रहने छ ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ७५ हजार १०१, द्वितीयले रु ५० हजार १०१ र तृतीयले रु ३० हजार १०१ नगदसहित सिल्ड, पदक र प्रमाणपत्र दिइने छ ।

यस्तै सोही अवसरमा अन्तरमावि छात्रा भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ । प्रतियोगितामा प्रथम र द्वितीय हुने समूहलाई क्रमशः रु २५ हजार १०१ र रु १५ हजार १०१ उपलब्ध गराउने समाजका पूर्व अध्यक्ष सञ्जय अधिकारीले जानकारी दिनुभयो ।

यसैगरी सोही उपलक्षमा सीतेरियो कराँते प्रतियोगिता, तीज गीत, तीज गीत नृत्य र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवबहादुर विष्टले तीज महोत्सवको आज यहाँ शुभारम्भ गर्दै वैदेशिक रोजगारीमा गएका दाजुभाइ अर्को वर्षदेखि घरपरिवारसँगै बसेर तीज मनाउने वातावरण बनोस भनेर शुभकामना दिनुभयो ।

उहाँले यस संस्थाले पोखराको विकासमा धेरै सामाजिक काम गरेको र युवालाई इमान्दार र नैतिकवान बनाउन पनि महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।

समाजका अध्यक्ष धर्ममान सिंह भण्डारीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org