ताजा समाचार

नेपाली चार क्रिकेट खेलाडी लाखमा बिक्री

काठमाडौं, २४ पुस ।  कैलालीमा चैतमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि बोलकबोल (अक्सन) मार्फत खेलाडी छनोट गरिएको छ । नेपालमै पहिलोपटक अक्सनमार्फत डिपिएलमा सहभागी ६ टोलीले खेलाडी किनेका छन् । शनिबार काठमाडौंको होटल याक एन्ड यतीमा साढे ६ घन्टासम्म अक्सन प्रक्रिया चलेको थियो ।

चार खेलाडीमा आकर्षण

अक्सनमा चार खेलाडी एक लाखमा बिक्री भएका छन् । पहिलो श्रेणीका खेलाडी सागर पुनलाई कन्चनपुर आइकोनिकले एक लाखमा किनेको छ । अन्य तीन टोलीले पनि सागरलाई लाखमा किन्ने दाबी गरेपछि कन्चनपुरले गोलाप्रथामा बाजी मार्‍यो । लाखमा बिक्री भएका अर्का खेलाडी हुन् अलराउन्डर मेहबुब आलम । आलमलाई सिवाइसी अत्तरियाले १ लाखमा किन्यो । अत्तरियाले तीव्र गतिका बलर करण केसीलाई पनि लाखमा किनेको छ । करणलाई अन्य दुई टोलीले दाबी गरे पनि अत्तरियाले गोलाप्रथा जित्यो । अक्सनमा सबैभन्दा बढी चासो तीव्र गतिका बलर सोमपाल कामीमाथि रह्यो । कामीलाई टिम चौराहाबाहेक अन्य पाँच टोलीले १ लाखमा भित्राउन चाहेका थिए । तर, काठमाडौं गोल्डेन्सले गोलाप्रथामार्फत सोमपाललाई भित्राउन सफल भयो ।

कञ्चनपुर बढी खर्च गर्ने टोली

कञ्चनपुरले कप्तानसहित १५ खेलाडी राख्न तोकिएको अधिकतम मूल्य ८ लाख ५० हजार खर्च गरेको छ । कञ्चनपुरले सागर पुनलाई १ लाखमा किन्दा अविनाश कर्ण, सुनील धमला र सिद्धान्त लोहनीमाथि समान ८० हजार रुपैयाँ खर्च गर्‍यो । सबैभन्दा कम खर्च गर्ने टोली विराटनगर किंग्स बन्यो । विराटनगरले तोकिएको भन्दा १ लाख ५० हजार कम खर्च गर्ने क्रममा सबैभन्दा बढी दीपेन्द्रसिंह ऐरीलाई ८० हजारमा किन्यो ।

९० खेलाडी छानिए

शनिबार भएको अक्सनमार्फत ९० जना खेलाडी डिपिएलमा छनोट भएका छन् । प्रत्येक टोलीले कप्तानसहित १५ जना खेलाडी भित्राएका छन् । अक्सनमा भाग लिन २ सय ५० खेलाडीले नाम दर्ता गराएका थिए । जसमध्ये २ सय १७ खेलाडी मात्र अक्सनमा भाग लिन योग्य ठहरिएका थिए । अक्सनमा सहभागी खेलाडीलाई चार समूहमा वर्गीकरण गरिएको थियो । पहिलो श्रेणीमा परेकामध्ये दुई खेलाडी भने बिक्री भएनन् । पहिलो श्रेणीका महेश क्षेत्री र परेश लोहनीलाई कुनै पनि टोलीले चासो देखाएनन् । अक्सनमा पहिलो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ५० हजार र अधिकतम १ लाख, दोस्रो श्रेणेीका खेलाडीको न्यूनतम मूल्य ४० हजार र अधिकतम मूल्य ८० हजार, तेस्रो श्रेणीका खेलाडीको न्यूनतम मूल्य ३० हजार र अधिकतम मूल्य ६० हजार तथा चौथो श्रेणीका खेलाडीको न्यूनतम मूल्य २० हजार अधिकत मूल्य ४० हजार राखिएको थियो ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org