ताजा समाचार

यस्ता छन् आख्यानकार बुद्धिसागरका ९ सेक्रेट्स

पछिल्लो समय नेपाली आख्यानमा अत्यन्त रुचाइएका लेखक हुन्, बुद्धिसागर । उनका दुवै उपन्यास ‘कर्णाली ब्लुज’ र ‘फिरफिरे’मा उनको बाल्यकाल तथा स्कुले जीवनका सन्दर्भ आएका छन् । पाठक पनि उनलाई बारम्बार सोधिरहेका हुन्छन्, के यो साँच्चै तपाईंकै कथा हो ? फुटकर लेखमा पनि बुद्धिसागरले आफूबारे प्रशस्तै लेखेका छन् । सामाजिक सञ्जालमा पनि अत्यन्त सक्रिय उनी अब केही दिनपछि रिलिज हुने फिल्म ‘लभ साशा’मा क्यामियोका रूपमा पनि देखिँदै छन् । तर, केही यस्ता विषय त पक्कै होलान् जसबारे उनले अहिलेसम्म खासै कतै कुरा गरेका छैनन् । के हुन् त ती सेक्रेट्स ? उनले ९ सेक्रेट्स सेयर गरेका छन्ः 

 

१. अकबरे खुर्सानी नभई खाना खाँदैनन् :

म सानैदेखि पिरो मन पराउँथेँ । बजारमा पाइने हरियो खुर्सानी होस् या धुलो खुर्सानी होस्, जे भए पनि हुन्थ्यो । तर, बिस्तारै यसले मलाई समस्या पर्न थाल्यो, ग्यास्ट्रिक्स बढ्न थाल्यो । पिरो नभई नहुने मैले त्यतिवेला गाइँगुइँ सुनेँ– अकबरे खुर्सानी पिरो पनि हुन्छ, स्वास्थ्यलाई फाइदा पनि गर्छ । त्यसपछि मैले अकबरे खुर्सानी खान थालेँ । सात वर्ष जति भयो, मलाई अकबरेविना खाना नै रुच्दैन । तर, यहीबीचमा मार्केटमा पनि अकबरेको क्रेज ह्वात्तै बढ्यो । अहिले त डुप्लिकेट अकबरे छ्याप्छ्याप्ती पाइन्छ । त्यसैले मैले पूर्वतिरका साथीभाइ भेटेँ भने अकबरे अर्डर गरिहाल्छु । इलामतिरका साथीहरूले ल्याइदिनु पनि हुन्छ । तर, म भेनेगर हालेर बनाएको अकबरेको अचारचाहिँ खान्नँ । साथीहरूले ल्याइदेको अकबरे पुरानो हुन थाल्यो भनेचाहिँ सिसाको बोतलमा नुन हालेर राख्छु । विवाह भएपछि म तरकारीमा हालेर होइन, खाना खाँदा अकबरे टोकेर खान्छु । कतिसम्म भने केहीअघि अस्ट्रेलिया जाँदा पनि मैले प्लेनमा लुकाएरै अकबरे लगेको थिएँ ।

२. प्रत्येक दिन एउटा फिल्म हेर्छन्, गीत अत्यधिक सुन्छन् :

म हलमा गएरचाहिँ अत्यन्त कम फिल्म हेर्छु । तर, प्रत्येक दिन एउटा फिल्म हेरिसकेपछि मात्र सुत्छु । हलहरूमा आफूले भनेजस्तो समय नपाउने भएकाले पनि पछिल्लो समय जान छाडेको हुँ । हलमा कस्तो हुन्छ भने सुरुमा टिकट पाइँदैन, ढिलो भएपछि डिभिडीमै हेरौँ न त भन्ने हुन्छ । मलाई आजभोलि फ्रेन्च, रसियन, इटालियन फिल्मले बढी तान्छन् । यस्ता फिल्मका डिभिडी लिन म सधैँ न्युरोडको एउटा पसलमा पुग्छु । त्यो भट्टराईजीको पसल हो, म गएपछि उहाँले नयाँ आएका डिभिडी दिनुहुन्छ । अरू पसलमा गयो भने के समस्या हुन्छ भने डिभिडीको चाङबाट छान्दा मैले नहेरेको फिल्म भेटिएन भने पसलेले मुख खुम्च्याउँछन् । तर, फिल्म हेर्नका लागि मेरो कुनै निश्चित जनरा छैन । हरर, कमेडी जस्तो भए पनि फिल्म भए पुग्छ । त्यस्तै, म गीत पनि अत्यन्त धेरै सुन्छु । बाटोमा हिँड्दा मेरो कानमा धेरैजसो इयरफोन हुन्छ । नयाँ गीत डाउनलोड गरेर मोबाइलमा राखेको रहेछु भने त म घर जाँदा लामो रुट रोज्छु । पहिले म हिन्दी गीत अत्यन्त धेरै सुन्थेँ, अहिलेचाहिँ कन्ट्री म्युजिकले मेरो ध्यान तान्छ । पछिल्लो समय म धेरै अंग्रेजी गीत सुनिरहेको छु । अंग्रेजी गीत सुन्दा अंग्रेजी लवज पनि जानिन्छ । आजभोलि त छोरीलाई अलमल्याउन टिभीमा गीत लगाइदिन्छु, अनि आफैँलाई अपडेट पनि गर्न पाउँछु ।

३. महाबौद्धको एउटा पसलमा मात्र मःम खान्छन् :

म यत्तिकै बजारका फास्टफुड रेस्टुरेन्टमा मम खान्नँ । मलाई रिस्क लिनुहुँदैन भन्ने लाग्छ । तर, मलाई अत्यन्त मन पर्ने खाजा हो, मःम । त्यसैले म विगत १० वर्षयता नियमित रूपमा मःम खान मन लाग्दा महाबौद्धको एउटा रेस्टुरेन्टमा पुग्छु । यो पसलको विशेषता, मःमको विशेष स्वादका साथै पिरो अचार पनि हो । सुरुमा मैले त्यहाँ मःम खाँदा २५ रुपैयाँ प्लेट पाइन्थ्यो । अहिले १०० रुपैयाँ पुगेको छ । तर, स्वादमा चाहिँ केही फरक छैन । गत वर्ष भूकम्प गएपछि केही दिन म यताउता यत्तिकै अलमलिएँ । त्यसको केही दिनमा मलाई झट्ट सम्झना आयो, मःम । अनि सम्झिएँ, म जाने त्यही मःम पसल । त्यो क्षेत्रका धेरै घर भत्किएको मलाई थाहा थियो । त्यो मःम पसल पनि भत्कियो होला भन्ने चिन्ताले मलाई छोप्यो । अब कहाँ मःम खाने होला भन्ने भयो । तर, केही दिनपछि त्यहाँ जाँदा मःम पसल यथास्थानमै थियो । त्यो दिनचाहिँ म अत्यधिक धेरै खुसी भएँ ।

४. सर्पसँग अत्यधिक डराउँछन् :

म सर्पसँग कति डराउँछु भने सर्प भएको फिल्म हेर्न पनि सक्दिनँ । ‘एनाकोन्डा’ त मैले सर्पको फिल्म भएकाले हेरेको पनि छैन । कतिसम्म भने एनाकोन्डाको म्युजिक सुन्दै डर लाग्छ । ‘फिरफिरे’मा पनि मैले सर्पको कथा लेखेको छु । त्यो लेख्दा पनि मलाई अत्यन्त धेरै डर लागिरहेको हुन्थ्यो । टेबलमा पो लाइट बालेर म उपन्यास लेख्थेँ, टेबलमुनि खुट्टातिर सर्प आयो कि भन्ने डरचाहिँ मनमा भइरहन्थ्यो । जे होस्, फिरफिरेको काम गर्दा मैले विषालु र अरू सर्पचाहिँ चिन्न थालेँ । यो चाहिँ खासमा बाल्यकालकै प्रभाव हुन सक्छ । म पढ्ने स्कुलमा बर्सेनि चार÷पाँच दिन सर्पदंशका कारण विद्यार्थीको मृत्यु भएकाले बिदा दिइन्थ्यो । त्यही समयदेखि मलाई सर्पसँग डर लाग्न थालेको हो जस्तो लाग्छ । कहिलेकाहीँ छिमेकमा सर्प देखियो रे भन्ने सुन्दा पनि म रातभर सुत्न सक्दिनँ । कसैले सर्प मात्र देखियो भन्यो भने पनि मेरो शरीर काम्छ, तातो भएर आउँछ । एकपटक म सिनामंगलबाट गाडी चढेर कतै जाँदै थिएँ । मेरो छेउमा एउटा जोगी थियो । अचानक उसको झोलामा मेरो कुहिनो ठोक्कियो । मलाई लाग्यो, त्यो जोगीले सर्प बोकेर हिँडेको छ । मैले गाडी त्यहीँ रोकेँ र हिँड्दै गएँ । बरु बाघ भालुसँग बाँच्न सक्छु भन्ने लाग्छ, तर सर्प, अहँ, नामै लिन सक्दिनँ ।

५. बिहान कहिल्यै फोन उठ्दैन

म बिहान उठेर मोबाइलमा हेर्दा जहिल्यै २०/२२ वटा मिस्ड कल नोटिफिकेसन हुन्छ । कहिलेकाहीँ त यसमा मेरी श्रीमतीका धेरै फोनकल हुन्छन् । खासमा के हुँदो रहेछ भने मोबाइलको घन्टी बज्दा मैले निद्रामै रिङ अफ गरिदिँदो रहेछु । त्यो कुनै कमन सेन्सले हो यो अरू केही हो, मलाई ठ्याक्कै थाहा छैन । तर, बजिरहेको मोबाइललाई मैले निद्राकै तालमा बारम्बार रिङ अफ गरिदिन्छु । कहिलेकाहीँ कतै पर जानुपर्दा पनि यही बानीका कारण मेरा धेरै यात्रा छुटेका छन्, कार्यक्रम छुटेका छन् । यही कारणले धेरै साथी मसँग रिसाएका छन् । कयौँपटक त पारिवारिक समस्या पनि परेका छन् । यो फिरफिरे लेखिरहँदाकै कुरा हो । म बिहानपख सुतेको थिएँ । बिहान मोबाइलमा श्रीमतीले धैरैपटक फोन गरिछन् । तर, मैले उठाइनँ । उनले छिमेकीलाई फोन गरेर मेरो ढोका ढकढक गर्न लगाइन् । अनि बल्ल म उठेँ । उनी सधैँ भन्छिन्– जतिवेला सुते पनि हुन्छ, तर मोबाइल उठाउने त गर्नु नि !

६. हर्टएट्याकको डर मान्छन् :

यो फिरफिरे लेख्दाकै कुरा हो । मलाई एन्जाइटी बढी भयो । एक्लै हुँदा मलाई डर लाग्थ्यो, मेरो मुटु छिटोछिटो धड्किरहेछ । यस्तो समस्या भएपछि मैले गोंगबु क्षेत्रका सबैजसो अस्पतालमा गएर मुटु चेक गराएको पनि थिएँ । थोरै पैसा हुनेबित्तिकै म अस्पताल पुग्थेँ र भन्थेँ– लौ न मेरो मुटु चेक गरिदिनुहोस् । केही पछिचाहिँ गंगालालमै गएर मैले मुटु चेक गराएँ । सबै ठीक रिपोर्ट आउँदाआउँदै पनि अहिले पनि मलाई हर्टएट्याकको डर लागिरहेको हुन्छ । झन्, कोही व्यक्तिको हृदयाघातका कारण मृत्यु भयो भन्ने समाचार सुनेँ भने त मेरो मुटुको धड्कन बढिहाल्छ । अनि म आफैँले आफैँलाई कन्भिन्स गर्न थाल्छु ।

७. गाडी चढ्न हच्किन्छन् :

मलाई बसमा यात्रा गर्दा अत्यधिक डर लाग्छ । झन् राजमार्गमा गाडीमा कतै गइरहेको छु भने अर्को दिशाबाट आइरहेको गाडी म चढेको गाडीमै ठोक्किन्छ कि भन्ने कुरा सोचिहाल्छु । अगाडिबाट आएको गाडी कटेपछि मात्र अलिक सहज महसुस हुन्छ । तर, मलाई हवाईयात्रामा कुनै डर लाग्दैन । मलाई गाडी यात्राभन्दा हवाईयात्रा अत्यन्त सहज पनि लाग्छ । अधिकांश मान्छे मैले देखेको छु, प्लेन हल्लिनेबित्तिकै डराउँछन् । तर, मलाई त्यस्तो डर लाग्दैन । मलाई थाहा छ, विमान दुर्घटनाबाट बच्नु दुर्लभ कुरा हो । तर, किनकिन म आफूचाहिँ विमान दुर्घटना भइहाले पनि बाँचिहाल्छु भन्ने सोच्छु । यस्तो हुनुको कारण एकपटक जिप दुर्घटनामा पर्नु पनि हुन सक्छ । एकपटक कर्णालीबाट आउँदा जिपको ब्रेक फेल भएर दुई बल्ड्याङ खाएको थियो । सायद, त्यतिवेलाको डर अहिले पनि कायमै छ ।

८. प्रतियोगितामा जान्छु भनेर जंगल घुम्न जान्थेँ:

यो म कालिकोटमा पढ्दाको कुरा हो । एकपटक हाजिरीजवाफ प्रतियोगिता हुने भयो । जिल्लास्तरीय हाजिरीजवाफ प्रतियोगिताको प्रश्नहरू सेट गरेको मैले थाहा पाएँ । र, त्यो प्रतियोगिताको प्रश्नपत्र हात परेपछि मैले विद्यालयमा गएर सरहरूलाई भनेँ– यो हाजिरीजवाफमा म जान्छु । उहाँहरूलाई कन्भिन्स गरेको थिएँ– म जसरी पनि यसमा प्रथम भएर आउँछु, भइनँ भने कारबाही गर्नुहोला । त्यो प्रतियोगितामा सोधिने प्रश्न र जवाफ थाहा भइसकेकाले मलाई कन्फिडेन्स पनि थियो । नभन्दै प्रतियोगितामा म प्रथम भएँ । त्यहाँ सोधिएका सबै प्रश्नको जवाफ मिलाउँदा राम्रै हुटिङ पाएको थिएँ । तर, एउटा कोटेसनवाला प्रश्नमा चाहिँ म फेल खाएँ । तीनपटक लगातार कोटेसन कसको हो भनेर सोधिएको प्रश्नमा मैले महात्मा गान्धी भन्ने जवाफ दिएको थिएँ । तीनैपटक त्यो मिलेन । मैले हेरेको प्रश्नपत्रमा चाहिँ गान्धीको कोटेसन थियो । त्यसपछि त्यहाँ प्रश्न सेट गर्नेहरूले मलाई हेरेका थिए । जे होस्, प्रतियोगितामा प्रथम भएकाले मलाई स्कुलले अन्य प्रतियोगितामा पनि पठाउन थाल्यो । तर, मलाई थाहा थियो, म हाजिरीजवाफमा राम्रो छैन । त्यसपछि स्कुलले पठाउने प्रतियोगितामा जाँदा म दिनभर जंगलतिर घुम्थेँ र फर्केर आएपछि भन्थेँ– आज जितिएन ।

९. अभिनयमा लाग्न चाहन्थेँ :

ममा एक्टिङको भूत सवार भएको थियो । घट्टेकुलोमा बस्दा मैले यो कुरा नाट्यकर्मी कृष्ण शाह ‘यात्री’लाई भनेको पनि थिएँ । उहाँले मलाई नाचघरमा फर्म खुल्ने र एक्टिङ सिक्न पाइने बताउनु पनि भयो । म उहाँले भनेअनुसारै फर्म भर्न पनि गएँ । अन्तर्वार्ता पनि दिएँ । त्यसमा अशेष मल्ल, भुवन ढुंगाना र मदनदास श्रेष्ठ जज हुनुहुन्थ्यो । त्यहाँ मैले ढाटेँ– कालिकोटमा तीनवटा नाटकमा काम गरिसकेको छु । उहाँहरूले ‘डायलग भन्नु’ भन्दा पनि यत्तिकै सोचेर भनेको थिएँ । तर, पछि मेरो नाम निस्किएन । मैले मदनदास श्रेष्ठलाई फोन गरेर आफ्नो नाम ननिस्किएको पनि बताएँ । उहाँले पहिले अन्तर्वार्ता लिँदा नै राम्रो भएको छ भन्नुभएको थियो । पछि मैले फोन गर्दा भन्नुभयो– हामीले त राखेका थियौँ, अन्तिममा काटेर अर्कै नाम हालेछन् । एक्टिङको भूत चढिसकेको मलाई यसले ठूलो पीडा दियो । केही पछि प्रज्ञा प्रतिष्ठानमा विजय विस्फोटले नाटक गर्दै हुनुहुन्थ्यो । कृष्ण शाह ‘यात्री’ले त्यहाँ जान भन्नुभयो । अभिनेता दयाहाङ राई पनि त्यहाँ आएका थिए । नाटकको सुरुवाती अडिसनमा मलाई राजकुमारको रोल दिइयो । तर, न मलाई अभिनय आउँथ्यो, न डायलग डेलिभरीमै म राम्रो थिएँ । बिस्तारै मेरो रोल छोटिँदै गयो । र, अन्तिममा त मैले दरबारको बाहिर उभिने सिपाहीको रोल मात्र पाएँ, जसले न केही बोल्नुपथ्र्यो, न केही अभिनय गर्नुपथ्र्यो, उभिए मात्र पुग्ने । त्यही रोलपछि मबाट एक्टिङको भूत उत्रियो ।

 

 

 

 

नयाँपत्रिकाबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org