ताजा समाचार

संविधान कार्यान्वयनका लागि निर्वाचन प्रमुख कार्य : महामन्त्री कोइराला

पोखरा, २५ पुस । नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले संविधानको कार्यान्वयनका लागि निर्वाचन सम्पन्न गर्नु राज्यको प्रमुख दायित्व भएको बताउनुभएको छ ।

पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस, लामाचौरमा निर्माणाधीन बिपी स्मृति पार्कको आज शिलान्यास गर्दै उहाँले संविधानले निर्दिष्ट गरेअनुसारका स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचन गरेपछि मात्र संविधानको सही कार्यान्वयन हुन्छ भन्ने पक्षमा नेपाली काँग्रेस रहेको बताउनुभयो ।

देशमा चाँडै नै स्थानीय तहको निर्वाचन हुने बताउँदै उहाँले त्यसका लागि क्रियाशील बन्न पार्टीका कार्यकर्तालाई निर्देशन दिनुभयो । आर्थिक समृद्धि र विकास अब देशको प्राथमिकता रहेकामा उहाँको जोड थियो ।

नेपाल विद्यार्थी सङ्घ पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पस एकाइ अध्यक्ष एवम् बिपी स्मृति पार्क निर्माण समितिका संयोजक सुमन शर्माले बिपीका आदर्श र योगदानलाई जीवन्त राख्न उहाँको स्मृतिमा पार्क निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।

नेपाली काँग्रेस कास्कीकी कोषाध्यक्ष लक्ष्मी पाण्डेले निर्माणाधीन पार्क निर्माणका लागि नेपाली काँग्रेस कास्कीका साथै अन्य निकायबाट सहयोग जुटाइने विश्वास व्यक्त गर्नुभयो ।

नेपाली काँग्रेसका पूर्व महामन्त्री एवम् पूर्व सभामुख तारानाथ रानाभाट, नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन परियार, कास्की काँग्रेसका सभापति कृष्ण केसीलगायतको उपस्थिति रहेको कार्यक्रममा विद्यार्थी नेताहरू आशिष शर्मा, आदर्श लामिछानेलगायतले आ–आफ्ना धारणा राख्नुभयो । रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org